श्रावण ६, २०८२ मंगलबार July 22, 2025

तयारी हालतमा रहन आईजीपी खनालको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेक्वा, श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकाले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए ।

उनले नम्बर ३८ रिजर्भ गण हेक्वा, लखनपुर झापाको समेत उद्घाटन गर्र्दै फौजको गहना भनेको अनुशासन भएकाले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्ट्रप्रति इमानदार, बफादार, नैतिकवान्, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए ।

कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हासिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहेनतको परिणाम भएको बताउँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिए ।

संगठनका सकलदर्जाले देखाएको इमानदारिता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्दै उनले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भएपश्चात् राजस्व संकलनमा वृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महसुस गरेको बताए ।

राष्ट्रसेवक कर्मचारी ताप्लेजुङको ओलाङचुङगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङरुसम्म अहोरात्र तैनाथ भइरहेको र विकट भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुदसमेत उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको भन्दै प्रसंशासमेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्लास्थित सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो ।- राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया