जेठ ६, २०८१ आइतबार May 19, 2024

सामुदायिक विद्यालयका शिक्षक धमाधम राजीनामा दिदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् ।

राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार समाचारपत्रसँगको कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो । किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय ९२ जनाले जागिर छाडिसकेका छन् । जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए ।’

गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ । चालु आर्थिक वर्षमा १ हजार ३ सय ४० जना शिक्षकले सेवा निवृत्त सुविधा माग गर्दै राजीनामा दिएका छन् । तीमध्ये १ सय ८५ शिक्षकको सेवा अवधि २० वर्ष पनि पुगेको छैन । तथ्याङ्कअनुसार यो आर्थिक वर्षमा हालसम्म २ सय ३३ शिक्षकको मुत्यु भएको थियो । मृत्यु भएपछि प्रक्रिया पूरा गर्न निवेदन दिने शिक्षकको संख्या बेग्लै हो ।

किताबखाना प्रमुख खकुरेलका अनुसार सेवा निवृत्तिवापत सुविधा लिन निवेदन दिएका शिक्षकले अझै केही वर्ष पढाउन सक्ने भए तापनि राजनीतिक मोह र स्थानीय तहले केही सुविधा दिने भएकोले जागिर छाडेका हुन् । उहाँका अनुसार केही शिक्षक राजनीतिक दलको विभिन्न पदमा बसेका र केहीले स्थानीय, संघ वा प्रदेशको निर्वाचनमा उम्मेद्वारी दिन राजीनामा दिएको पाइएको छ ।

गत वर्ष ७ सय ९७ जनाले राजीनामा, ३ हजार ३ सय ६६ जनाले अनिवार्य अवकास र २ सय ७ जनाको मुत्यु भएको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादी, राप्रपा नेपाललगायत अधिकांश दलको महाअधिवेशन भएको र सो महाअधिवेशनको निर्वाचनमा उठ्न पनि शिक्षकले राजीनामा दिएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले करिब डेढ महिनापछि आउन लागेको स्थानीय र मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा उम्मेद्वार बन्नकै लागि केही शिक्षकले राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा निर्वाचनमा उठ्नकै लागि राजीनामा दिने शिक्षकको संख्या बढ्न थालेको छ ।’

उहाँले विगत वर्षको तुलनामा यो वर्ष राजीनामा दिने शिक्षकको संख्या बढ्न थालेकोले भन्दै यसलाई कम गर्न गम्भीर अध्ययन गर्नुपर्ने बताउनुभयो । गएको महिनामा केही विद्यालयमा प्रधान अध्यापकदेखि मुख्य विषय पढाउने शिक्षकले समेत राजीनामा दिन थालेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘के गर्ने ? जसलाई राजनीति गर्न मन लाग्छ, उहाँहरू राजीनामा दिएर राजनीति गर्नुहुन्छ । नभए मुलुकको शिक्षा बलियो बनाउन आफ्नो पेसामा दत्तचित्त भएर लागि पर्नुहुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हाल मुलुकभर करिब १ लाख ५० हजार शिक्षक कार्यरत छन् । तीमध्ये करिब १ लाख ५ हजार स्थायी पदमा कार्यरत् रहेको जानकारी दिँदै केन्द्रका महानिर्देशक चुडामणि पौडेलले भन्नुभयो– ‘सरकारी सेवामा लागेका शिक्षकले धमाधम राजीनामा दिएको सुनेको छु । विस्तृत जानकारी लिन पाएका छैनौं ।’ -नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया