जेठ ५, २०८१ शनिबार May 18, 2024

कर्णालीमा वित्तीय पहुँच कमजोरः वित्तीय साक्षरताको अवस्था झनै दयनीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशका अन्य प्रदेशको तुलनामा कर्णालीमा वित्तीय पहुँचको अवस्था कमजोर रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार देशभर १० हजार बढी वित्तीय संस्थाका शाखाहरू रहेकोमा कर्णालीमा ४४ वटा मात्र शाखा छन् । कर्जा र निक्षेपमा समेत कर्णालीको अवस्था उस्तै छ ।

देशभर झन्डै ४८ सय ६३ अर्ब डिपोजिट परिचालन भइरहेकोमा कर्णालीमा ५३ अर्बको हाराहारीमा मात्र निक्षेप हुने गरेको छ । प्रदेशमा वित्तीय साक्षरताको अवस्था झनै दयनीय रहेको छ ।

सूचना अभावमा बैङ्किङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नागरिक जानकार छैनन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अझै पनि कर्णालीमा कम्तीमा २ लाख २० हजार व्यक्तिको बैङ्क खाता छैन ।

जनगणनाको प्रारम्भिक विवरण अनुसार कर्णालीको जनसङ्ख्या १६ लाख ९४ हजार भए पनि १४ लाख ७४ हजार मात्र बैङ्क खाता छन् । पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत मात्र वितरण गर्न लागेपछि यो सङ्ख्या बढेको हो ।

यसमा संस्थागत खाता र एउटै व्यक्तिले २/३ वटा बैङ्कमा खोलेको खाता पनि समावेश गरिएकाले त्यो सङ्ख्या बढी देखिन आएको नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले बताउनुभयो ।

उहाँले गाउँ–गाउँमा बैङ्कका शाखा कार्यालय खुले पनि सुरक्षा भत्ताका लागि मात्र ती खाताहरू प्रयोग भइरहेको जनाउनुभयो । उहाँका अनुसार सबै नागरिकको बैङ्क खाता नहुँदा कर्णालीमा अहिले पनि परम्परागत रुपमा कारोबार हुने गरेको छ ।

त्यसैले प्रदेशको आर्थिक समृद्धिका लागि अझै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको नेपाल राष्ट्र बैङ्क कर्णाली प्रदेशका सहायक निर्देशक पूर्णबहादुर नेपालीले बताउनुभयो । उहाँले कर्णालीका १० जिल्लामा झन्डै साढे ५९ अर्ब रुपैयाँ बचत छ भने साढे ५५ अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै १९.०५ अर्ब सुर्खेतमा र सबैभन्दा कम मुगुमा १.६३ अर्ब रुपैयाँ बचत रहेको छ । सुर्खेतबाट १९.५ अर्ब रुपैयाँ र सबैभन्दा कम डोल्पामा ४९ करोड रुपैयाँ मात्र लगानी भएको छ ।

उहाँले कर्णालीमा वित्तीय पहुँच सूचकका दृष्टिले सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, हुम्ला, मुगु र डोल्पा पछि रहेको बताउनुभयो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तहरूको सङ्ख्या बढी छ  ।

प्रदेशमा ४ सय ४४ वटा बैङ्क तथा वित्तीय संस्था छन् । तर ‘क’ र ‘ख’ वर्गका बैङ्कहरूको सङ्ख्या न्यून छ । प्रदेशभरि १ सय ९५ वटा ‘क’ वर्गका बैङ्क छन् भने ‘ख’ वर्गका बैङ्कको सङ्ख्या १९ मात्र छ । सबैभन्दा कम मुगुमा ८ बैङ्क छन् । सुर्खेतमा ‘क’ वर्गका बैङ्कको सङ्ख्या ५२ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया