काठमाडौंः चन्दननाथ माध्यामिक विद्यालय, जुम्लाका प्रा.वि. श्रेणीमा कार्यरत शिक्षक कलानन्द माझीले छोरा परीक्षार्थी शेखर माझीलाई परीक्षा केन्द्रमा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाएको भन्दै अख्तियार अनुसन्धान आयोगले कार्वाहीका लागि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उजुरीका आधारमा अनुसन्धान गर्दा शिक्षक कलानन्द माझीले सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत आफ्नो छोरा शेखर माझीलाई राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाइएको भेटिएको हो ।
२०७५ बैशाख ३० गतेदेखि २०७ जेठ ९ गतेसम्म श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लामा संचालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय पास गराउनको लागि सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिष्ट गैरकानूनी तरिकाले सच्चाईएको आयोगले जनाएको छ ।
सोही सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नामथर पहिले नै विज्ञान विषय लिई कक्षा ११ र १२ को परीक्षा पास गरिसकेको प्रभात शाही उल्लेख गरी पुनः अर्को कन्ट्रोल लिष्ट बनाई हाजिरीमा उपस्थित देखाइएको र परीक्षा प्रभात शाहीलाई दिन लगाएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
त्यसैगरी श्री कर्णाली माध्यामिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्माले शिक्षक कलानन्द माझीसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईबटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी विषय र फिजिक्स बिषयको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको जानकारी हुँदाहुँदै पनि परीक्षामा सहभागी हुन दिएको पाइएको छ ।
केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रुपमा परीक्षामा सहभागी हुन दिएको पुष्टि भएको र शेखर माझीले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीको नाम उल्लेख गरी परीक्षा दिन लगाइएको भन्दै सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
प्रभात शाहीले परीक्षामा सहयोग गरेको तथा शेखर माझीलाई कक्षा ११ को फिजिक्स र अंग्रेजी विषयको परीक्षामा पास गराई शेखर माझी र कलानन्द माझीलाई सहयोग गरी मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएकोले तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसूरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको कसूर गरेको हुँदा निजहरु उपर सोही ऐनको दफा ११ ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धांत्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुन माग गरेको छ ।
त्यसैगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा शिक्षक कलानन्द माझीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायका लागि मागदाबी गरेको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया