काठमाण्डौंः सत्तारुढ पाँच दलीय गठबन्धनले नुवाकोटका दुई नगरपालिका र एक गाउँपालिकामा भागवण्डा टुंग्याएका छन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा भागवण्डा मिलाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धनको ५ दिनदेखि निरन्तर बैठक बसेको थियो । यसअघि सहमति जुट्न नसके पनि शुक्रबार बसेको जिल्ला गठबन्धन बैठकले नुवाकोटको तीन पालिकाको भागवण्डा टुङ्गाएका हुन् ।
सहमति अनुसार नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकाको मेयर पद कांग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले लिने सहमति भएको छ । बेल्कोटगढी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई दिने र उपमेयरमा कांग्रेसले लिने सहमति बनेको छ । त्यस्तै तारकेश्वर गाउँपालिकाको मेयरमा कांग्रेस र उपमेयर माओवादीले लिने सहमति भएको छ ।
भागवण्डाको सहमति पत्रमा गठबन्धनको अगुवाई गरिरहेका सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सभापति रमेशकुमार महत र नेकपा माओवादी केन्द्रका संयोजक पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
गठबन्धनले तीन नगरको मेयर, उपमेयरसहित वडाको भागवण्डा पनि टुंगो लगाएको छ । बिदुर नगरपालिकामा कांग्रेसले ९ वटा, माओवादीले ३ वटा र एकीकृत समाजवादीले १ वडा पाएको छ । बोल्कोटगढीमा कांग्रेसले ६ वटा, माओवादीले ५ र एकीकृत समाजवादीले २ वडा पाएको छ । तारकेश्वर गाउँपालिकाको ४ वटा वडा कांग्रेस र २ वटा वडा माओवादीले पाएका छन् ।
नुवाकोटको बाँकी ९ वटा पालिकामा अझै गठबन्धनबीच सहमति हुन नसकेको र तालमेलको निस्कर्षमा पुग्न छलफल जारी रहेको जनाइएको छ । गठबन्धन बैठकले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संगठन भएका वडाहरूमा दुवै दललाई एक/एक वडा सदस्य दिने बाँकी दुई सिटमा कांग्रेस र माओवादी केन्द्रले बाँडफाँड गर्ने सहमति भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया