असार २४, २०८२ मंगलबार July 8, 2025

प्रमुख निर्वाचन आयुक्तद्धारा राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा आगामी फाल्गुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि माघ ०९ गते निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा सात वटै प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात जना निर्वाचित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गरेकामा आयोगका पदाधिकारी लगायत निर्वाचनमा संलग्न सबै निकाय, संस्था एवं व्यक्तिलाई धन्यवाद प्रकट गरेकी छिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भविष्यमा हुने निर्वाचनलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्नसमेत निर्देशन दिएको आयोगले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको साथै निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल,आयोगका सचिव देवकुमारी गुरागाँईं लगायत सहभागी रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया