काठमाडौं । ओमान र अमेरिका पछिल्लो समय विश्व क्रिकेटमा फड्को मारिरहेका टिम हुन् । दुवै टिममा आप्रवासी खेलाडीको बाहुल्य छ । ओमानले त टी २० विश्वकप पनि खेलिसकेको छ । अहिले दुवै टिमसंग वान डे इन्टरनेशन ओडीआई अर्थात आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता छ ।
नेपालले यी दुई टिम भन्दा अघि नै ओडीआई मान्यता पाएका हुन् । यही दुई टिम सम्मिलित त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्दै नेपालल आईसीसीको नयाँ साइकल विश्वकप लिग २ मा डेब्यू गर्दैछ ।
सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको लागि यो लिग रोडम्यापसमेत हो । लिग २ मा अमेरिका र ओमानले यसअघि दुई सिरिज खेलिसकेका छन् । नेपालको भने यो पहिलो सिरिज हो । अनि घरेलु मैदानमा पनि ओडीआई मान्यता पाएपछि यो पहिलो सिरिज हो ।
त्यसैले अहिले नेपाली क्रिकेट खेलाडीदेखि समर्थक सबै सिरिजको प्रतीक्षामा रहेका छन् । खेलाडी घरेलु मैदानमा दर्शकको अगाडि खेल्न उत्साहित छ भने दर्शकहरु क्रिकेटप्रेमी आफ्नै मैदानमा आफ्नै खेलाडीले ओडीआई मान्यता प्राप्त खेल खेलेको हेर्न उत्साहित छ ।
अर्को खुशीको विषय के छ भने नेपालको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानले पनि अब ओडीआई मैदानको मान्यता पाउँदैछ । त्यसैले धेरै अर्थमा नेपालको लागि यो सिरिज महत्वपूर्ण छ । सन् २०१८ मार्चमा जिम्बावेमा ओडीआई विश्वकप छनोट खेलेर पहिलो पटक ओडीआई राष्ट्रको मान्यता पाएको नेपालको लागि यो समग्रमा तेस्रो सिरिज हो । नेपालले यसअघि खेलेको दुई सिरिज हारेको छैन । त्यसैले पनि नेपालको लागि घरेलु मैदानमै सिरिज जित्दै लिग २ मा राम्रो शुरुवात गर्ने अवसर पनि छ ।
नेपालले नेदरल्याण्ड्ससंग खेलेको पहिलो ऐतिहासिक सिरिज १-१ ले बराबरी गरेको थियो भने युएईविरुद्ध दोस्रो सिरिज २-१ ले जितेको थियो । नेपालले दुवै देशमा गएर सिरिज खेलेको थियो ।
माघ २२ गते बुधबार नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जिसन मक्सुद मैदानको बीच भागमा रहेको पिच नजिकै गएर टस गरेपछि टीयू मैदानले ओडीआई मैदानको मान्यता पाउनेछ । त्यसपछि घरेलु मैदानमा नेपालले पहिलो ओडीआई क्रिकेट खेल खेल्नेछ । अनि विश्वकप लिग २ मा पनि पहिलो खेल हुनेछ नेपालको लागि ।
दुई वर्षसम्म चल्ने यो लिगमा राम्रो शुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया