असार २५, २०८२ बुधबार July 9, 2025

जिसस प्रमुखको उम्मेदवारी प्रकरणले माओवादी केन्द्र ताप्लेजुङमा लफडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला समन्वय समितिको प्रमुख पदको उम्मेदवारी प्रकरणले माओवादी केन्द्र ताप्लेजुङमा एक अर्काबीच आरोप प्रत्यारोपसहित विज्ञप्तीबाजी सुरु भएको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध यसअघि स्थानीय तहका लागि वितरित सिफारिसको दुरुपयोग गरी जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएको भनेर गंगाराम शंकरको उम्मेदवारी फिर्ताका लागि गरेको भएको सिफारिस र उम्मेदवारी फिर्तापछि माओवादीको अर्को पक्षले विज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरेको छ।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम र लक्ष्मीप्रसाद अन्छङ्वो तथा प्रदेशकमिटी सदस्यद्वय दावाछिरिङ शेर्पा र ठाकुरसिंह लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तीमा उत्पीडित समुदायलाइ हेर्ने पार्टीको नीति सिद्धान्तसंग मेल नखाने गरी व्यवहार भएको भन्दै निन्दा प्रकट गरिएको छ।

चार जनाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्ला समन्वय समितिमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार दर्ता भइसकेका शंकरको पक्षमा माहोल सिर्जना गरी पूर्व सहमति अनुसार गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा माओवादी पार्टीकै उम्मेदवारी फिर्ताका लागि लाग्नु पार्टी नेतृत्वको कमजोरी रहेको दाबी गरिएको छ। हस्ताक्षरित विज्ञप्तीमा उत्पीडित समुदायलाइ हेर्ने दृृष्टीकोणसहित पार्टीभित्र देखिएको गलत चिन्तनविरुद्ध लाग्ने प्रणसहित विकसित घटना क्रमका बारेमा भ्रममा नपर्न र निरास नहुन पार्टीपंक्तिमा अपिल गरिएको छ।

माओवादी केन्द्रको ताप्लेजुङ जिल्ला समितिको तर्फबाट इञ्चार्ज तथा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र जिल्ला संयोजक बिरु हाङ्वाङले शनिबार विज्ञप्ती जारी गर्दै यसअघि स्थानीय तहका लागि वितरित सिफारिसको दुरुपयोग गरी जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको भन्दै शंकर पार्टीको आधिकारिक उम्मेदवार नभएको बताएका थिए।

सोही अनुसार माओवादी केन्द्रको १ नं प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) द्वारा हस्ताक्षरित पत्रका आधारमा शंकरको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। माओवादीको प्रदेश कमिटीले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यको उम्मेदवारीका लागि सिफारिस गर्ने गर्छ। सोही अनुसार १ नं प्रदेश कमिटीले समन्वय प्रमुखका लागि मिङ्माडण्डु शेर्पा र सदस्यमा सन्तोष राईलाइ सिफारिस गरेको माओवादी केन्द्रको ताप्लेजुङ जिल्ला समन्वय समितिले बताएको छ।

गठबन्धन पक्ष एक भएर उम्मेदवारी दर्ता गर्न जाने बेला अघि नै अर्को पक्षले यसअघि स्थानीय तहको निर्वाचनका लागि दिएको सिफारिस प्रयोग गरी पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी केन्द्रको ताप्लेजुङ जिल्ला समन्वय समितिले विज्ञप्तीमार्फत नै यस्तो उम्मेदवारी दिने शंकर आफ्नो पार्टीको आधिकारिक उम्मेदवार नभएको बताएको थियो। माओवादी केन्द्रको तर्फबाट शंकरको उम्मेदवारी परेपछि समन्वय प्रमुखका लागि उम्मेदवारी दिन तयारी गरिरहेका शेर्पाको उम्मेदवारी दर्ता नहुने परिस्थतिसंगै गठबन्धन पक्ष यसअघिको सहमतिलाई नयाँ स्वरुपमा परिमार्जन गर्न पुगेको थियो। जस अनुसार प्रमुखमा नेकपा एस र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारलाई अघि सारेको गठबन्धन पक्षले जनाएको छ।

यसअघि समन्वय प्रमुख र १ जना सदस्य माओवादी केन्द्रले, उपप्रमुख नेकपा एसले र ६ जना सदस्य नेपाली काँग्रेसले पाउने गरी गठबन्धन दलहरुबीच सहमति बनेपनि माओवादी केन्द्रका तर्फबाट शंकरको उम्मेदवारी दर्ता प्रकृयाहरु गठबन्धन पक्षबीच यसअघि बनेको सहमतिमा बदलाव आएको हो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया