काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटगरी नेपाली अर्थतन्त्रमा हाल देखिएका समस्या, समाधान र अधिकारीले सार्वजनिक कार्यक्रममा राख्ने गरेको चिन्ताको विषयमा छलफल गरेका छन् ।
लामो समेयदेखि बैंकले ऋण प्रवाह गर्न नसकेको, पुँजीबजारले निरन्तर ओरालो यात्रा पच्छ्याएको र विदेशी विनिमयको सञ्चिति घट्दै गएको सम्बन्धमा महामन्त्री थापाले गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।
गभर्नरलाई भेटेर अहिलेकाे समयमा देखिएका समस्याका कारण र अबका दिनमा समधानका उपायका विषयमा छलफल गरिएको थापाले जानकारी दिए ।
‘अहिले जे जस्ता समस्या देखिएका छन् तीनको मुख्य कारण के हो ? हाम्रो तर्फबाट के कमीकमजोरी भयो र अब कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न गभर्नरकोमा गएको हुँ’, थापाले भने ।
भेटमा गभर्नर अधिकारीले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थामा आयात कडाइमा सरकार र राष्ट्र बैंक सँगसँगै हिँड्नु पर्ने र चोरी पैठारीमा सरकारले कडाइ गर्नुपर्ने राय राखेका थिए ।
महामन्त्री थापाले विगतमा अर्थतन्त्रमा चुनौती थपिए पनि असहज अवस्थामा नगएको दाबी गरेका थिए । तर, पछिल्ला दिनहरूमा भने उनले अर्थतन्त्र थप असहज बन्दै गएको र यही अवस्था कायमै रहे श्रीलंकाको जस्तै समस्या आउन सक्ने बताउने गरेका छन् ।
बुधबार एक सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा नगई आयातमा नै गएकाले विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको भन्दै यस्तै अवस्था रहे नेपालले पनि ठूलाे समस्या खेप्ने बताएका थिए ।
‘श्रीलंकाले लिटेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगिरहेका छन्, हामी यो कुरामा साँच्चै सतर्क हुन जरुरी छ’, उनले सोही कार्यक्रममा भनेका थिए, ‘अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सिध्याइँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने खतरा छ ।’ न्यूजअभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया