पछिल्लो घटनाक्रमले चतुर राजनीतिक व्यक्ति होइन, साधारण राजनीतिक व्यक्ति हुँ भन्ने पुष्टि भएको छ । राजनीतिमा क्रियाशील भएदेखि जनताको सर्वोच्चता, निष्ठा, अनुशासन र सक्रियतालाई प्रमुख चरित्रको रूपमा आत्मसात् गरेको छु । त्यही कारणले राजनीतिक व्यवस्था परिवर्तन भए पनि आफूलाई स्थापित गर्न सक्षम भएको छु । राप्रपाको गत मंसिरको महाधिवेशनपछि जुन घटना भयो, त्यो मेरो व्यक्तिगत छनोट वा प्राथमिकताभन्दा पनि नियति र परिस्थितिले यो ठाउँमा ल्याइपुर्याएको छ । जुन बाटोमा हिँडिरहेको छु, त्यसमा म सन्तुष्ट छु । उत्साहित पनि छु ।
वास्तवमा मेरो राजनीतिक जीवनको उतारचढाव हेर्नुहुन्छ भने चतुर्याइँले उचाइ बढाएको होइन । चतुर्याइँले सफलताको शिखरमा पुगेको पनि होइन । चतुर भएको भए ०४७ सालमा बहुदल आएपछि कांग्रेस र एमालेमा प्रवेश गर्थें । मलाई स्वागत गर्न एमाले र कांग्रेस तयार थिए । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले कांग्रेसमा आएर मकवानपुरको नेतृत्व लिन आग्रह गर्नुभएको थियो । त्यो बाटो नरोजेर कठिन र चुनौतीपूर्ण बाटो रोजेर राप्रपामा संगठित भएँ ।
०६३ सालको परिवर्तनपछि मेरा अग्रजहरू, मैले सम्मान गरेका सबै राप्रपामा रहेका नेताहरू परिवर्तन जनताको माग हो, चाहना हो भनेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लाग्नुभयो । म ज्यान हत्केलामा राखेर विपरीत धारमा लागेँ । म चतुर भएको भए त्यो नदीको प्रवाहसँगै बगेर अगाडि बढ्ने प्रयास गर्थें । ०६३ सालमा राप्रपा नेपाल गठन गर्दा सांसद भएर उपप्रधानमन्त्री हुन्छु भन्ने परिकल्पना नै गरेको थिइनँ । वडा सदस्य पनि जितिन्छ कि जितिँदैन भन्ने अवस्था थियो ।
कतिपयले कमल थापाको राजनीतिक भविष्य समाप्त भयो भनेका थिए । तर, बहुदल आएपछि पूर्वपञ्चहरूमध्ये सबैभन्दा पहिला झण्डा हाल्ने व्यक्ति मै हुँ । ०६३ को परिवर्तनपछि पहिलाका राप्रपाका नेताहरूमध्ये सबैभन्दा उच्च पदमा पुग्ने व्यक्ति मै हुँ । यो कुनै चतुर्याइँले होइन ।
नियतिले तपाईंलाई दुःखद बाटोतिर धकेलेको भनेर आत्मसमीक्षा गर्दैगर्दा युवापुस्तालाई नेतृत्व विकासमा साथ दिनेचाहिँ किन नसोच्नुभएको ?
युवापुस्तालाई पर्दापछाडि रहेर सहयोग गर्ने चाहना थियो । नियति र परिस्थितिले मलाई सदैव चाहनाअनुसारअगाडि बढ्न दिँदैन । त्यस क्रममा जब मेरो मान्यता धरापमा पर्न थाल्यो, सिद्धान्त र विचार धरापमा पर्न थाल्यो, मप्रति आस्था र विश्वास राख्ने हजारौँ कार्यकर्ताको भविष्य अलपत्र पर्ने देखिएपछि जोखिम र चुनौतीपूर्ण भए पनि मैले यो बाटो अवलम्बन गरेको हुँ ।
०६३ को गणतन्त्रको भुङ्ग्रोमा राजतन्त्रको पक्षमा वकालत गरेर टाउको झोस्न पुग्ने कमल थापा १५ वर्षपछि कसरी राजतन्त्रको विकल्प गणतन्त्र रहेछ भन्नेमै पुग्यो भनेर आममान्छेको जिज्ञासा मेटिएकै छैन । त्यसको म”ल कारण देशको धरातलीय यथार्थ, जनभावना र आस्था राखेको राजसंस्थाको भूमिकाका कारण लोकतन्त्रको बाटोमा हिँड्न बाध्य बनायो ।
१५ वर्षअघि नै गणतन्त्र स्वीकार गर्ने राप्रपाका नेतालाई किन गाली गरेको त ? तपाईंभन्दा त उनीहरू नै दूरदर्शी रहेछन् नि ?
म अहिले पनि भन्छु, नेपालको भू–राजनीतिक अवस्था, नेपालको सामाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा चुनावी राजनीतिभन्दा माथि उठेको अभिभावकको रूपमा रहने साझा संस्थाको रूपमा रहने राजसंस्थासहितको प्रजातन्त्र उपयुक्त हुन्छ । मेरो मान्यता मात्र भएर पुग्ने रहेनछ । मेरो नियत असल भए पनि हरेक असल नियत सफल हुन्छन् भन्ने छैन । व्यावहारिक रूपमा कार्यान्वयन हुन्छ भन्ने छैन । निरन्तर १५ वर्ष राजसंस्था पुनर्स्थापनका लागि रगत पसिना बगाएँ ।
त्यसका बावजुद धरातीय यथार्थ परिवर्तन गर्न सकिँन । जनताको भावना परिवर्तन सकिनँ । यसमा मुख्य रूपमा राजसंस्था वा राजाले राजसंस्था पुनर्स्थापनाका लागि जुन सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो निर्वाह गर्न सकेनन् । जतिबेला मैले राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेर हिँडेको थिएँ, नेपालमा राजसंस्था पुनर्स्थापना हुन्छ भन्ने लागेकै थियो । तर, यो १५ वर्षको बीचमा राजसंस्था पुनर्स्थापनाका लागि निरन्तर प्रयासको बावजुद राजा वा राजसंस्थामा सकारात्मक सहयोग भएन । जसले गर्दा राजसंस्था पुनर्स्थापना हुने सम्भावना समाप्त भयो । त्यो मेरो निष्कर्ष हो ।
राप्रपाको महाधिवेशनको चुनावी नतिजासँगै तपाईंको निर्मल निवासप्रतिको प्रतिक्रिया अनि निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनप्रतिको टिप्पणीका कारण तपाईंमा बढ्ता कुण्ठा, आक्रोश र आवेग झल्कियो, स्वीकार्यता नै देखिएन । क्षणिक आवेगको राजनीतिप्रति नागरिकले किन विश्वास गर्ने ?
हुन सक्छ । जब तपाईंलाई पछाडिबाट कसैले छुरा हान्छ, जसमाथि तपाईंले धेरै ठूलो विश्वास गर्नुभएको थियो, त्यसबाट विश्वासघात हुन्छ, त्यो बेलामा व्यक्ति प्रतिक्रियाविहीन हुन सक्दैन । तत्कालीन परिस्थितिमा अलिक बढी नै प्रतिक्रिया दिएँ होला । अलिक बढी आवेगमा आएँ होला । तर, त्यो स्वाभाविक अभिव्यक्ति थियो ।
तपाईंले ‘गीताको कसम खाएर’ राप्रपा फुटाउँदिनँ भन्नुभएको थियो । पाथीभरा देवी मन्दिरमा राजेन्द्र लिङ्देन र तपाईंले आपसमा नछुट्टिने कसम खानुभएको थियो । आखिर ती कसम तोडिए । धार्मिक मान्यताका तपाईंहरूलाई कसम तोडेकाले पापको भागीदार हुनुपर्ला भन्ने डर त लाग्दो होला नि ?
गीता महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक ग्रन्थ हो । त्यो गीतालाई पटकपटक पढेको छु । गीता छोएर पार्टी फुटाउँदिनँ भनेर कसम खाएका कारण नै प्राविधिक रूपमा भन्नुहोस् वा व्यावहारिक रूपमा, मैले पार्टी फुटाएको होइन ।
जब मेरो मान्यता, आदर्श, विचार अलपत्र पर्ने सम्भावना टड्कारो रूपमा देखियो, जुन सपना बोकेर ०६३ सालमा संवर्द्धनवादको वैचारिक दर्शन बोकेर नयाँ शक्ति निर्माण गर्ने प्रयास गरेको थिएँ, त्यो सपना भताभुंग हुने र नयाँ शक्ति बन्ने अवस्था देखेपछि त्यही गीतामा भगवान् श्रीकृष्णले व्यक्त गर्नुभएको भावनाअनुसार मैले कर्तव्य निर्वाह गरेँ । मैले पार्टी फुटाइनँ ।
भगवान् श्रीकृष्णले ‘अन्यायविरुद्ध कहिल्यै सम्झौता नगर, आफ्नो स्वधर्म, कर्तव्यबाट च्यूत नहुनू, आदर्शलाई नछोड्नू, त्यसको निम्ति आवश्यक पर्दा संर्घष गर्नू, पलायन कायरता हो’ भनेर अर्जुनलाई स्वधर्ममा लाग्न प्रेरित गर्नुभएको थियो ।
त्यही गीताको अनुयायी भएका कारण मेरो मान्यताको रक्षाका लागि पार्टी छोडेको हुँ । तितो लाग्न सक्छ, वा हृदयको सबै कुरा बुझाउन सक्दिनँ होला तर आफ्नो कर्तव्यपथमा लागेको छु, त्यसमा सन्तुष्ट छु ।
राजेन्द्र लिङ्देनको कुरामा म धेरै टिकाटिप्पणी गर्न चाहन्नँ । मैले मेरो अन्तर्आत्माको कुरा गरेको हुँ । कहिलेकाँही अरुलाई अन्तर्आत्माको कुरा चित्त नबुझ्न सक्छ, तर म कति इमानदार छु भन्ने कुरा कि मलाई थाहा छ, कि भगवान्लाई ।
पञ्चायतकालदेखि गणतन्त्रकालसम्म परीक्षित भएको नेता हो । ‘अबचाहिँ कमल थापाले पूर्वमान्यता मात्र छोडेको छैन, सान्दर्भिकता पनि गुमाउँदै गएको छ,’ भन्नेहरूलाई तपाईंको के जवाफ हुन्छ ?
व्यक्तिगत रूपमा मैले मेरो सान्दर्भिकता स्थापित गर्न सक्छु कि सक्दिनँ थाहा छैन । गीताकै कुरा गरौँ, भगवान श्रीकृष्णले भन्नुभएको छ, कर्म गर्ने मात्रै तिम्रो अधिकार छ, फलमा तिम्रो नियन्त्रण छैन, सफलता असफलता दुवै अवस्थामा समभाव राखेर आफ्नो कर्तव्य गर, त्यही योग हो । यही आदर्शबाट प्रेरित भएको हुँ । मैले तत्काल परिणामको अपेक्षा गरेको छैन ।
०४७ र ०६३ मा मैले तत्काल परिणामको अपेक्षा राखेको थिइनँ । अहिले पनि तत्काल परिणामको अपेक्षा गरेको छैन, लामो यात्रामा हिँडेको छु । नेपालको राष्ट्रिय राजनीतिमा समाजवाद, साम्यवाद, पुँजीवादको विकल्पमा संवर्द्धनवादको वैचारिक दर्शन स्थापित गर्ने, त्यो दर्शन बोकेको शक्ति निर्माण गर्ने र त्यसको बीजारोपण गर्ने गरेको छु ।
यदि यसको प्रतिफल तत्काल मैले पाउन सकिनँ भने पनि भोलि आउने पिँढीलाई अगाडि बढाउनेछु । नेपालको जुन खालको सामाजिक सांस्कृतिक परिवेश छ, त्यो परिवेशमा संवर्द्धनवादको महत्त्व र औचित्य सर्वकालिक छ । स्थापित हुन्छ ।
तपाईंको संवर्द्धनवाद त ०७९ वैशाख ३० को स्थानीय चुनावमा एमालेको साम्यवादसँग आत्मसर्पण गरिसक्यो नि ?
त्यो वास्तवमा निराश टिप्पणी मात्रै हो । ७ फागुनमा हामीले पार्टी गठन गरेका थियौँ । निर्वाचनमा जानका लागि हामीसँग मुस्किलले २/३ महिनाको समय थियो । देशभर पालिकामा पार्टी संगठन विस्तार भइसकेको थिएन । त्यस कारण हामीले चुनावमा ठूलो अपेक्षा राखेनौँ । सैद्धान्तिक र सांकेतिक रूपमा मात्रै सहभागिता रह्यो ।
त्यस क्रममा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय भयो । यसका लागि एमालेलाई धन्यवाद दिन चाहन्छु कि, दुई महिनाअघि खुलेको पार्टीसँग सहकार्य गर्नका निम्ति एमाले तयार भयो । तालमेलबाट तत्काल कति फाइदा हुन्छ भन्ने भन्दा पनि कमल थापाले जुन बाटो हिँड्ने हिम्मत गरेको छ, त्यसलाई प्रोत्साहन गर्नुपर्छ भनेर संकेतको रूपमा लिएको छु ।
त्यस कारण एमालेप्रति आभारी छु । साथसाथै, कांग्रेस, माअोवादी केन्द्रलगायतका राजनीतिक दललाई भन्न चाहन्छु कि तपाईंहरूले जुन राजनीतिक विचारधारामा आधारित बाटो बनाउनुभएको थियो, ढिलै भए पनि घुमिफिरी त्यो बाटोमा आइपुगेको छु । त्यो तपाईंहरूको सफलता हो भन्ने ठान्नुहोस् । कमल थापाजस्तो कट्टर राजावादी लोकतन्त्रको पक्षमा उभिँदा खेरी तपाईंको पनि स्नेह, सद्भाव हुनुपर्छ भन्ने लाग्छ ।
कमल थापा आइपुगेको आजको दिन प्रचण्डको पनि सफलता हो ?
निश्चिय पनि हो । मेरो आफ्नै मान्यता थियो । त्यो मान्यता फेरियो । मैले १५ वर्ष बिराएको बाटोबाट लोकतन्त्रको बाटोमा आइपुग्दा उहाँहरूको सफलता हो । हिजो कांग्रेसले आफ्नो मान्यता र वैचारिक धार बदल्यो । एमालेले पनि वैचारिक धार बदलेर राजासहितको नीति अवलम्बन गरेको थियो । उनीहरूले ०६३ सालमा छोडे । मलाई पनि केही समय लाग्यो होला ।
विगतको १५ वर्ष बाटो बिराएको कालखण्डप्रति आत्मालोचना वा पश्चात्ताप छ ?
गल्ती गरेँ भन्नेचाहिँ लागेको छैन । सैद्धान्तिक रूपमा नेपालको भू–राजनीतिक अवस्थिति, नेपालको धार्मिक, सामाजिक, सांस्कृति परिवेशमा चुनावी राजनीतिभन्दा माथि उठेको राजतन्त्र आवश्यक हो । तर, सैद्धान्तिक विषय अब व्यावहारिक रूपमा नहुने र प्राज्ञिक विषय मात्रै हुने अवस्था सिर्जना भएको छ । मैले इमानदारीपूर्वक चाहेको हो, मेरो प्रयासले मात्रै सम्भव भएन । मलाई यसरी भित्तामा पुर्याइयो कि मैले त्यो एजेण्डालाई छोड्नुपर्ने बाध्यता आइलाग्यो ।
स्थानीय चुनावमा एमालेकोे सूर्य चिह्नमा चुनाव लड्नुभयो । आउँदो संघीय चुनावमा के गर्नुहुन्छ ?
अहिलेसम्म त्यस विषयमा टुंगो लागेको छैन । नेपालको राजनीतिक घटनाक्रम, गठबन्धनको विकसित राजनीतिका कारण जतिसुकै लोकप्रिय भए पनि एक्लैले चुनाव जित्न गार्हो छ ।
ठूलाठूला पार्टी नै गठबन्धन गरेर गएपछि साना पार्टीलाई गार्हो पर्छ । त्यस कारणले आफ्नो अस्तित्व रक्षाका लागि पनि गठबन्धन गरेर जानुपर्ने हुन्छ । स्थानीय चुनावमा एमालेसँग मिलेर गएको हो, आगामी चुनावमा पनि एमालेसँग मिलेर जाने सम्भावना छ ।
तपाईंले जति नै लोकप्रिय भए पनि चुनाव जित्न गार्हो भनिरहनुभएको छ । तर, प्रमुख शहरमै स्वतन्त्रले चुनाव जितेका छन् । यो दलप्रति वितृष्णा मात्रै हो कि स्वतन्त्रप्रतिको लहर हो ?
विभिन्न फ्याक्टरले काम गरेको छ । ६ हजार ७ सय ४३ पदमा ३ सय ४८ पदमा स्वतन्त्रले चुनाव जितेका छन् । यसको माने देशभरि नै स्वतन्त्रको पक्षमा एकतर्फी लहर आयो भन्ने होइन । दलीय व्यवस्थामा एउटा दल असफल भयो भने अर्को दलले अवसर पाउँछ । त्यो पनि असफल भए अर्को विकल्प खोजिन्छ ।
त्यस कारण दलहरूप्रति वितृष्णा भए पनि बहुदलीय प्रतिस्पर्धाप्रति जनताको विश्वास यथावत् छ । काठमाडौंमा मेयर स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयको कुरा छ त्यसमा । दलहरूप्रतिको वितृष्णाको कारणले मात्र भन्दा पनि बालेन शाहको पक्षमा देखिएको सकारात्मक पक्षको माहौलको परिणाम हो ।
बालेन शाहको जितलाई दलहरूप्रतिको वितृष्णा भनेर बालेन शाहको जितलाई अवमूल्यन गर्नु हुँदैन । स्वतन्तका लागि आउँदो निर्वाचन उत्साहित हुने खालको देख्दिनँ । त्यो एउटा लहड हो ।शिलापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया