तपाईंको आशय मदन भण्डारी भारतपरस्त नेता थिए भन्ने हो ?
उनीबाट गल्ति भएको हुन सक्छ । माधव नेपाल, मदन भण्डारीहरूले पहिले गलत सोच लिएको हुन सक्छ । ०४६ सालमा त त्यो कुरालाई आफैं उल्टाए नि । वाममोर्चा बनाउने र कांग्रेससँग सहकार्य गर्ने बाटोमै आए नि । तर, उनीहरुले पहिले लिएको गलत अडानप्रति आत्मालोचना किन गरेनन् ? पहिले यदि नबुझेर त्यस्तो अडान लिएको भए आत्मालोचना गर्नुपर्थ्याे । तर, उनीहरुले गरेनन् । यसको अर्थ उनीहरुले आफ्नो मनोज्ञानले मात्रै मेरो प्रस्तावको विरोध गरेका थिएनन् । उनीहरुमा बाह्य प्रभाव थियो ।
तर, तपाईंले भनेजस्तो मदन भण्डारीमा बाह्य प्रभाव थियो भन्ने त कुनै पनि तथ्य–प्रमाणले पुष्टि गर्दैनन् । आफ्ना विरोधिजति सबैलाई भारतपरस्त देख्ने तपाईंको मनोरोग मात्रै हो कि ?
यसमा म स्पष्ट छु । बाह्य शत्तिको प्रभाव कोबाट आयो, तर नेकपा मालेमा आएकै हो । हिजोको मुक्तिमोर्चामा काम गर्ने मान्छे र कोअर्डिनेसन केन्द्रमा काम गर्ने नेताकै माध्यमबाट त्यो अगाडि बढ्यो । कसले अगूवाइ गर्यो त्यो चाहिँ विश्लेषणको पाटो हो र मदन भण्डारी बाहक बने त्यसको । उनले त्यसवापत लाभ पनि उठाएकै हुन् । मजस्तो स्थापित नेतालाई पन्छाएर उनी पार्टीको शक्तिमा स्थापित भए ।
अर्को महत्वपूर्ण पाटो चाहिँ के हो भने आफूलाई बोकेर शक्तिमा पुर्याइदिने बाह्य शक्तिलाई उनले गुन तिर्न भने खोजेनन् । उनले महाकाली सन्धीलाई राष्ट्रघाति भनेर विरोध नै गरे । त्यो उनको राष्ट्रभक्ति थियो । सही अडान थियो । तर, आफैंले बोकेको नेताले नै महाकाली सन्धीको विरोध गरेपछि अन्ततः त्यही बाह्य शक्तिले दासढुंगा दुर्घटना रचेको मेरो निस्कर्ष छ ।
तपाईंको विचारमा दक्षिणको शक्तिले नै मदन भण्डारीको योजनाबद्ध हत्या गरेको हो ?
बिल्कुल त्यही हो । जसले एउटा नौसिखिया मान्छेलाई नेता बनायो, उसले नै आफूले भनेको नमानेपछि यो घटना गराइएको हनुपर्छ ।
नौसिखिया भन्नाले ?
राजनीतिमा नयाँ–सिकारु भनेको । उनी हामीभन्दा धेरै पछाडि आएका नेता हुन् । उनी मुक्तीमोर्चामा केन्द्रीय सदस्य समेत थिएनन् । पुष्पलालको पार्टीमा सांस्कृतिक संघको केन्द्रीय सदस्य थिए जसको महासचिव मोदनाथ प्रश्रित थिए । उनी वास्तवमा कम्युनिष्ट आन्दोलनमा ०३४ सालदेखि मात्रै आन्दोलनकर्मी भएर लागेका हुन् । उनी नौसिखिया नै थिए । उनलाई बाह्य शक्तिले उचालेरै महासचिव बनाइदिएको हो ।
यस्तो आरोप लगाउन तपाईंसँग कुनै ठोस आधार–प्रमाण छ कि पूर्वाग्रही अनुमान मात्रै हो ?
अनुमान होइन, यो मेरो राजनीतिक विश्लेषण हो । मैले मदन भण्डारीलाई नराम्रो मात्रै भनेको छैन । जसले उनलाई महासचिव बन्न मद्दत गर्यो, उसको नेपाल विरोधि नीतिको विरोधमा उभिनु त मदन भण्डारीको राम्रो पक्ष हो नि । उनको यो राष्ट्रभक्तिको म अहिले पनि प्रशंसा गर्छु । कुनै एउटा शक्तिबाट लाभान्वित भएर पद लिए पनि त्यो शक्तिले भनेको नमानेपछि उसले बदला लिने काम त गर्छ नि । त्यस्तै भएको हो ।
भनेपछि, मदन भण्डारीले बाह्य शक्तिको षडयन्त्र बुझ्न नसकेका हुन् ?
उनले बाह्य दबाबलाई कसरी हुन्छ छल्न सक्नुपथ्र्यो । सर्प पनि मर्ने र लाठी पनि नभाँचिने गरी बुद्धिमतापूर्ण तरिकाले काम गर्न उनले जानेनन् । उनी राजनीतिमा नौसिखिया नै थिएन नि त । त्यसैले जुन शक्तिले उनलाई उचाल्यो उसैले समाप्त पनि पार्यो । म दासढुंगा हत्याकाण्डको घोर निन्दा गर्छु, तर मदन भण्डारीले बाह्य शक्तिले दिएको लाभ ग्रहण गरेको कारणले नै यो नतिजा आएको हो ।
त्यो स्वभाविक दुर्घटना होइन । भोलिपल्टै म आफैं गएर दुर्घटनास्थल हेरेँ । त्यो रचिएको काण्ड भन्ने स्पष्टै छ । यद्यपि, यसमा मसित कुनै खुफिया जानकारी चाहिँ छैन ।
तपाईंको शब्दमा नौसिखिया नै भए पनि मदन भण्डारीले जनताको बहुदलीय जस्तो सिद्धान्त ल्याएर पार्टी पंतिको विश्वास जित्नु, अनि २०४६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउनु चानचुने सफलता त होइन नि ?
उनको वक्तृत्व कला राम्रो थियो । आफ्नो गलत कुरालाई पनि सही भनेर भ्रम छर्न सक्ने खुबी थियो । त्यही प्राविधिक खुबीले गर्दा उहाँले पार्टी पंतिको विश्वास जित्न सफल भए । त्योभन्दा महत्वपूर्ण, मैले अघि नै भनेँ, कि बाह्य शक्तिले उनलाई हात दिए ।
मदन भण्डारीको जबज ल्याउँदा तपाईंले निकै आलोचना गर्नुभयो, आखिर तपाईंसहित नेपालका सबै कम्युनिष्ट आज जबजकै बाटोमा हिँडिरहेको यथार्थलाई नकार्न सक्नुहुन्छ ?
जबज भनेको वास्तवमा कम्युनिष्ट सिद्धान्त नै होइन । नेपालमा २०४६ सालको परिवर्तन हुँदा सोभियत संघको विघटन भएको अवस्था थियो । समाजवादी मुलुकहरु धमाधम ढलिरहेका थिए । विश्व्यापीरुपमा मार्क्सवाद र समाजवादमाथि साम्राज्यवादले तीव्र राजनीतिक प्रहार गरिरहेको बेला भण्डारीले मार्क्सवाद छोडेका हुन् । जनताको बहुदलीय जनवाद भनेको मार्क्सवादी शब्दावलीमा प्रजातान्त्रिक समावाद हो ।
जे भए पनि एउटा मौलिक सोच र कार्यक्रम त मदन भण्डारीले ल्याएकै हुन् नि ?
केको मौलिक हुन्थ्यो ? युरोपमा पराजित भएको थोत्रो सिद्धान्तको अन्धनक्कल हो यो । कसरी मदन भण्डारीले युरोकम्युनिज्मको डकुमेन्ट पढेर त्यसबाट अनुकरण गरे भन्ने साक्षी प्रमाण अहिले पनि जिवित छन् । जसले उहाँलाई युरोकम्युनिष्टका दस्तावेज दिए, उनीहरुले आवश्यक पर्दा सार्वजनिक गर्न सक्छन् । युरोपमा चुनावकै माध्यमबाट समाजबाद ल्याउन सकिन्छ भन्ने कम्युनिष्ट मान्यता थियो । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने सिद्धान्त मदन भण्डारीले युरोकम्युनिज्मबाटै साभार गरेका हुन् । तर, युरोपमा यो सिद्धान्त १० वर्ष पनि टिकेन । अहिले युरोकम्युनिज्मको नामोनिसान छैन । मदन भण्डारीले पनि यही माध्यमबाट नेपालमा जनवाद, समाजवाद, साम्यवाद आउँछ भनेका छन्, जुन मार्क्सवादसँग मेल खाँदैन ।
तर, तपाईं पनि त आजका दिनसम्म ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’ प्रणालीमै हुनुहुन्छ नि होइन र ?
हो, नेपालको राजनीति केही समय संसदीय प्रणालीबाटै अगाडि बढ्ने अवस्था छ । यसरी हेर्दा मदन भण्डारीको जबज तत्कालको निम्ति उपयोगी देखिन्छ । कार्यनीतिकरुपमा संसदीय प्रणालीलाई तत्काल उपयोग गर्ने कुरा मार्क्सवादसम्मत नै हो । तर यसलाई नै रणनीतिक सिद्धान्तका रुपमा अपनाउन सकिँदैन । मेरो विरोध जबजकै माध्यमबाट समाजवाद, साम्यवादमा पुग्न सकिन्छ भन्ने भण्डारीको सोचमाथि हो । यस्तो विल्कुल अमार्क्सवादी हुन्छ । तर मदन भण्डारीले यो कुरा पटक्कै मानेनन् । उनले जबजलाई रणनीतिक सिद्धान्त नै बनाए । अहिले केपी ओली अध्यक्ष भएको पार्टीे यही बहुदलीय जनवादबाट साम्यवाद आउँछ भन्छ ।
त्यसो भए के अझै पनि क्रान्तिबाटै जनवाद ल्याउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
जनवाद संसदीय प्रतिस्पर्धाबाट आउँदैन । यसका लागि जनताले बल प्रयोग नगरी हुन्न भन्ने मुख्य मेरो मान्यता हो । नत्र जनवादी सत्ता स्थापना सम्भव छैन । ठ्याक्कै चीनमा जस्तो नेपालमा नहोला । तर, जनताको बल प्रयोग वा क्रान्ति बेगर जनवाद आउँदैन ।
बल प्रयोग भनेको चाहिँ कस्तो ? सशस्त्र युद्ध नै हो कि सामान्य सडक आन्दोलन ?
सशस्त्र वा निशस्त्र भन्दा पनि जनताबाट बल प्रयोग हुनुपर्यो । झापामा आन्दोलनपछि मैले नै भनेको थिएँ, नेपालमा बलप्रयोगको रुपमा जनआन्दाेलन, चाहे जनविद्रोह वा अल्पकालीन सशस्त्र विद्रोह हुन सक्ला । चीनको जस्तो दिर्घकालिन जनयुद्ध चाहिँ नेपालमा हुन सक्दैन । झापा विद्रोहपछि हामीले समिक्षा गर्दा बलप्रयोगको रुप फरक हुन्छ, तर बिना बलप्रयोग पुरानो सत्ताको गर्भबाट नयाँ सत्ता जन्मिँदैन भन्ने निश्कर्ष निकालेका हौं । नयाँ सत्ता भनेको जनगणतन्त्र हो ।
संक्षेपमा भन्दा जबजमार्फत एमालेलाई मदन भण्डारीले बुर्जुवाकरण गर्नुभयो भन्ने तपाईंको आशय हो ?
बिल्कुल सही । त्यसमा कुनै शंकै छैन । उनी राजनीतिको मामलामा मार्क्सवादबाट च्यूत भए । स्खलित भए । उनले अरु धेरै मार्क्सवादी कुरा गरेका होलान् । तर मुख्य राजनीतिलाई हेर्ने दृटिष्कोण चाहिँ मार्क्सवादी भएन । राजनीति वर्गीय कुरा हो भन्छ मार्क्सवादले । शान्तिपूर्वकक सरकार बदल्न सकिन्छ तर सत्ता बदल्न सकिन्न । सुत्केरी स्याहार्नलाई धाइआमा चाहिएजस्तै सत्ता बदल्न जनताको बलप्रयोग आवश्यक पर्छ । तसर्थ यो राजनीतिक मामलामा मदन भण्डारी मार्क्सवादबाट स्खलित भए । त्यो स्खलन भनेको पूँजीवाद हो । पूँजिवाद पनि सक्कली होइन नक्कली पूँजिवाद ।
४६ सालपछिको पहिलो आम निर्वाचनमा लोकप्रिय प्रधानमन्त्रीलाई हराउनुमा उहाँको केही प्रतिभा र क्षमता त देख्नुहुन्छ होला नि ?
त्यसबेला जनमत नै वामपन्थीको पक्षमा थियो । म त वास्तवमा कृष्णप्रसाद भट्टराइलाई चुनाव जिताउनुनपर्छ भन्ने पक्षमा थिएँ । उनी र गणेशमान अलि बढी कम्युनिष्टसँग सहकार्य गर्ने नीतिका पक्षधर भएकाले भट्टराईको विरोधमा नजाउँ भनेको हुँ । तर राजनीतिक विश्लेषण नगर्ने एउटा भिडले मदनलाई भट्टराईसँग भिडाइदियो ।
कांग्रेसभित्र गिरिजा पनि भट्टराईविरुद्ध थिए । त्यो पक्षसँग मिलेर एमालेले भट्टराईलाई हराएको हो । थोडी एमालेले मात्रै हराएको हो र ? गिरिजा उनलाई हराउन सक्रिय भए । यो नतिजा नेपालको राजनीतिका निम्ति हानिकारक भयो । कृष्णप्रसाद आएको भए राजनीति यस्तो भ्रष्ट र आचरणहीन हुने थिएन । पूँजिवादी प्रजातन्त्र यति चाँडो विकृत हुने थिएन । उत्साहित फ्यानहरुको पछि लागेर मदन भट्टराइको विरुद्ध उठे । यसले देशलाई ठूलो नोक्सानी भयो । म कुनै बहादुरी ठान्दिनँ । त्यसलाई त नासमझी ठान्छु । उनले देशको मर्मलाई बुझेनन् । कृष्णप्रसाद आएर नेतृत्वको भए राजनीतिमा जुन गिरिजा आएपछि गन्दा खेल भयो, भ्रष्टाचार नांगो ढंगले भयो, त्यो हुने थिएन होला । सम्भवत माओवादीले ५२ सालमा विद्रोह गरेर जानुपर्ने हुँदैन थियो । नौसिखिया मदन भण्डारीको निर्णयले देशलाई नै गलत दिशामा लग्यो ।
एमालेले मदन भण्डारीलाई जननेता भन्नु गलत हो त्यसो भए ?
यो उनीहरुको कुरा हो । मदन भण्डारीको एउटा पक्षलाई अहिले पनि महत्व दिन्छु । जतिसुकै बाह्य शक्तिले उचाले पनि महाकाली सन्धीलाई उनले साथ दिएनन् । देशभक्तीपूर्ण अडान लिए । मृत्यूपर्यन्त देशभक्त नै रहे । तर उनका उत्तराधिकार भन्नेहरु उनको बाटोमा हिँडेनन् । न केपी ओली न माधव नेपाल । जे कुराको निम्ति मदन भण्डारी मारिए, माधव नेपाल, केपी ओलीले त्यसैलाई साथ दिए ।
मदन भण्डारी जिवित रहेको भए राजनीति धेरै फरक हुन्थ्यो भन्छन् नि कतिपयले, तपाईंलाई कस्तो लाग्छ ?
केही फरक हुन हुँदैनथ्यो । कि त उनले आफ्नो गल्ति सच्याउनुपथ्र्यो । जबजलाई कार्यनीतिकरुपमा लिएर माक्र्सवादी ढंगले अगाडि जाने हिम्मत भएको भए एमालेको बुर्जुवाकरण रोक्न सकिन्थ्यो । जबजलाई नै निरन्तरता दिएर मात्रामा परिवर्तन आउन सक्थ्यो होला, तर चरित्र र गुणमा परिवर्तन आउने थिएन । उनले लिएको बाटो नै विकृतिकरण, स्खलनको बाटो हो । विदेशी सिद्धान्तको अन्धनक्कल गर्ने उनी हुन् । बदल्न पनि उनलाई सजिलो हुन्थ्यो । तर, उनका पछुवाले सही वा गलत भए पनि त्यसलाई क्रिटिकल रुपमा हेर्नै सक्दैनन् । दोस्रो तेस्रो पिँढीकाले गलत कुरालाई अघि बढाउने बाहेक घटाउन कामै गर्दैनन् ।
तपाईं आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा हुनुहुन्छ । अझै पनि क्रान्तिको कुरा गर्दै हुनुहुन्छ । यो उमेरसम्म नगरेको क्रान्ति अब कहिले गर्नुहोला ? अनि आफ्नो जीवनकालमा कार्यान्वयनमा ल्याउन नसकेको कुरालाई कागजी सिद्धान्त मात्र बनाएर के उपलब्धी हासिल हुन्छ ?
एउटा कुरा के हो भने हाम्रा आफ्नै मान्छेले आँगनमा फोहोर गरिदिए । यही फोहोर हटाउन मा र मजस्ता देशभक्तको पनि समय व्यतित भएको छ । यो फोहोरले जनता पनि प्रभावित छन् । कार्यकर्ता पनि प्रभावित छन् । लामो समय लिन्छ । त्यसैले मेरो जीवनकालमै जनवादी क्रान्ति हुन्छ भन्न सक्दिनँ । नेपाल प्रेस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया