असार २१, २०८२ शनिबार July 5, 2025

महायज्ञबाट रङ्गशाला बनाउन ३५ करोड सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उनले जानकारी दिएका छन ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् ।

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ ।

यसैगरी जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ ।

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा दान गर्नुभएको छ । पोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका छन् । जसले अरूलाई पनि उत्साहित बनाएको छ ।

जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शङ्कर कँडेलले बताएका छन ।

उनले धने, “भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।” जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम सङ्कलन भएको उनले जानकारी दिएका छन।

नगदसँगै हालसम्म रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताएका छन ।

महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेनु दाहालले चितवनवासीमात्रै नभएर धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताएका छन । उनले रङ्गशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताएका छन ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया