असार ३२, २०८२ बुधबार July 16, 2025

प्रेस स्वतन्त्रताबाट मात्रै नागरिक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै: प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार माध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बुधवार काठमाण्डौमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा सूचना तथा प्रविधिको द्रूत गतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले सत्यतथ्य सूचना प्रशारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसुचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रशारण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया