असार ३२, २०८२ बुधबार July 16, 2025

वीर अस्पताल स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सक्षम जनशक्तिका कारण मुलुककै केन्द्रीय रिफरल अस्पतालको रूपमा रहेको यस अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय उपचारात्मक सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दछु ।”

विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाइ बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाई दिनुभयो ।

“भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यसलाई प्राथमिकता साथ अघि बढाउन म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन चाहन्छु” उहाँले भन्नुभयो । आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा ९आइसियू० सघन उपचार कक्ष र भेन्टिलेटर लगायतका चिकित्सा उपकरण आवश्यक सङ्ख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

साथै उहाँले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया