काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्चपदस्थ पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो ।
यसअघि उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेकी हुन्।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया