काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि आज विभागीय टिम त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दै छन्।
गत मंसिर २७ देखि सञ्चालन भइरहेको लिगको अन्तिम खेलले आज उपाधि विजेताको टुंगो लगाउनेछ। खेल, काठमाडौंको दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ।
खेलमा आर्मीले बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रलाइ जित्नैपर्ने दबाब छ। आर्मीले २०६१ सालमा पहिलोपटक ए डिभिजन लिग खेलेको थियो। त्यसयता २०६३ सालमा आर्मी उपाधि नजिक पुगेर पनि उपविजेतामै सिमित बनेको थियो।
सो खेलमा आर्मी विभागीय पुलिस क्लबसँग पराजित भएको थियो। जारी सिजन एकै लयमा देखिएको आर्मी शारीरिक र मानसिक रूपमा बलियो देखिएको छ।
यता मछिन्द्र क्लब पनि उपाधिनजिक पुगेर पनि असफल भएको अर्को अभागी टोली हो। २०६९ सालमा उपविजेता भएको मछिन्द्र योपटक उपाधि हत्याउने दाउमा छ।
हेबीवेट खेलाडीलाई अनुबन्ध गरेर बलियो शक्तिका रूपमा उदाएको मछिन्द्र आर्मीलाई कडा चुनौती दिने योजनामा छ। अनुशासनको कारबाहीमा परेका विमल घर्तीमगर पनि अन्तिम खेलमा मैदान उत्रँदै छन्।
१२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ। १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भए पनि मछिन्द्र १ अंकले पछि छ।
गत वर्ष लिगमा अंक तालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष १ अंक घटाइएको थियो। यो संस्करणको उपाधि विजेताले ५० तथा उपविजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया