असार ३०, २०८२ सोमबार July 14, 2025

सत्ता गठबन्धन कार्यदल बैठक सम्पन्न : सिट बाँडफाँटको ढाँचा बनाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता गठबन्धन कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सम्बन्धमा ढाँचा तयार पार्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको ढाँचा बनाउने सहमति गरेको हो।

कार्यदलका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई दिएको जिम्मेवारी पुरा हुने गरी बिहीबारको बैठक सकारात्मक भएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो, “बैठक कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने गरी सकारात्मक ढंगले अगाडि बढेको छ। विभिन्न मोडालिटीमा छलफल गरेर केही दिनभित्रै कार्य पूरा गर्ने छौं।” मन्त्री कार्कीले कार्यदलमा सहमतिको ढाँचा तयार गर्नेक्रम सकारात्मक रुपले अगाडि बढेको प्रष्ट पार्नुभयो।

यसैगरी, कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले पाँच दलबीच संसदीय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्नुपर्ने सैद्धान्तिक सहमति भएको बताउनुभयो।

नेता गुरुङले भन्नुभयो, “त्यसको लागि सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा आज सकारात्मक छलफल भएको छ।” सैद्धान्तिक मान्यताको सन्दर्भमा आफ्ना–आफ्ना दलमा छलफल र परामर्श गरेर ढाँचा तयार गर्ने सहमति भएको उहाँको भनाइ छ।

सिट बाँडफाँटमा स्थानीय निर्वाचनको परिणामलाई आधार मान्नुपर्ने विषय आएको भए पनि हालको संसद र विगतको निर्वाचनको उपस्थितिलाई पनि ध्यानमा राख्नुपर्ने उहाँले बताउनुभयो।  “सदनमा प्रत्यक्ष र समानुपातिकतर्फ भएको उपस्थितिको अवस्था, त्यसको सेरोफेरोमा मोडालिटी खोज्नुपर्छ भन्ने सैद्धान्तिक रुपले छलफल भयो”, गुरुङले भन्नुभयो।

गठबन्धनको ११ सदस्यीय कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की हुनुहुन्छ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुषाल र प्रमेश हमाल, जनता समाजवादीबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ हुनुहुन्छ भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ। कार्यदलको अर्को बैठक साउन ३० गते बस्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया