असार ३२, २०८२ बुधबार July 16, 2025

वृन्दावनका शिक्षकलाई कक्षाकोठामा मोवाइल चलाउन प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रौतहटको वृन्दावन नगरपालिकाले नगरपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरुलाई कक्षाकोठामा मोवाइल चलाउन निषेध गरेको छ ।

नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले विद्यालयको पठनपाठनको समयमा कक्षाकोठाभित्र मोवाइल फोन चलाउन निषेध गरेको हो ।

नगरपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक बैठकमा प्रधानाध्यापकहरुले शिक्षकहरुले पठनपाठनको समयमा कक्षाकोठामा मोवाइल चलाउँदा शिक्षण सिकाइ प्रभावित भएको र आफुहरुले नचलाउन भन्दा शिक्षकहरुले अटेर गर्ने गरेको गुनासो गरेपछि सोही बैठकबाट निर्णय गरेर निर्देशन जारी गरिएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।

उनले कुनै शिक्षक तथा कर्मचारीले नगरपालिकाले जारी गरेको निर्देशनको अवहेलना गरेमा सम्बन्धित शिक्षक तथा कर्मचारीलाई प्रधानाध्यापकले कारवाही गर्न र अटेरी गरेमा शिक्षक आचार संहिता अनुसार कारबाही गर्न सिफारिस गरी पठाउन सम्पूर्ण प्रधानाध्यापकहरुलाई निर्देशन पनि दिइसकेको जनाए ।

‘शिक्षकहरुले पढाउने समयमा मोवाइल चलाउँदा पठनपाठनमा असर पारिरहेको गुनासो आएपछि हामीले यो निर्णय गरेका हौँ’ उनले भने, ‘विद्यार्थीले पाउने गुणस्तरिय शिक्षामा हामी कुनैपनि सम्झौता गर्न चाहन्नौं । वृन्दावन नगरपालिकालाई हामी शैक्षिक नगर बनाउने अभियानमा लागेकाछौं ।’

शिक्षकहरुले कक्षाकोठामा मोवाइल चलाउँदा यसले समग्र शिक्षामा असर पर्ने, शिक्षक, विद्यार्थीको ध्यान एकिकृत नहुने लगायतका समस्या आउने हुँदा नगरपालिकाको यो निर्णय एकदमै स्वागतयोग्य भएको स्थानिय युवा भोला पटेलले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया