असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपालले केन्यालाई पाँच विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।

त्यस्तै आरिफ शेखले अविजित २४ रन जोडे भने ज्ञानेन्द्र मल्लले २३ रन जोडे । यसैगरी आसिफ शेखले १९ रन बनाए भने रोहित पौडेल १३, आदील अन्सारी २ तथा अविजित पवन सर्राफले १ रन जोडे । केन्याका लुकास ओलुओच र भिराज पटेलले २-२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । यस्तै नेल्सन ओढियाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट झारे । जीतसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । अब नेपालले आज दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया