काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको सहयोग अतुलनीय रहेको बताएका छन् । उनले नेपालको विकासका लागि भारतले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधईस्थित रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयको नवनिर्मित दुईतले भवन तथा विज्ञान प्रयोगशाला शनिबार उद्घाटन गर्दै उनले भारत असल छिमेकी देश रहेको बताए । ‘नेपाली र भारतका जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ बनाएको छ,’ उनले भने, ‘नेपाली भूमिमा भारतको अनुदानमा बनेका पूर्वाधारले मित्रताको प्रगाढ बनाएको छ ।’
नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो रहेको भन्दै उनले जनस्तरदेखि नै सम्बन्ध बलियो रहेको बताए । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासको लागि भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको बताए । ‘नेपाली जनतालाई सबल, सक्षम बनाउँदै अगाडि बढ्नुपरेको छ,’ उनले भने, भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ जस्तो महामारी विरुद्धको खोप उपलब्ध गराएर सहयोगको गरिमा उँचो बनाएको स्मरणयोग्य छ । ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले सामुदायिक विद्यालयको भवन निर्माण शैक्षिक क्षेत्रको महत्वपूर्ण र प्रशंसनीय कार्य भएको बताए । उनले हजारौं विद्यार्थीको उज्ज्वल भविष्यसँग जोडिएको कार्यमा भारतले सहयोगको हात अघि बढाएर मन जितेको बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमूना माविमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताए । उनले भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया