असार २३, २०८२ सोमबार July 7, 2025

लुटेर खाने, व्यपारी राखेर बजेट बनाउनेहरुलाई जनताले भोट दिदैँनन् । – खगराज अधिकारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघ र प्रदेशसभा निर्वाचनको तयारी के कस्तो भइरहेको छ ?

भदौ २२ गतेसम्म संघ र प्रदेशसभाका लागि उपयुक्त उम्मेदवारहरू प्रदेश क्षेत्रीय समन्वय कमिटी र प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रारम्भिक सिफारिस गर्दछन् । उक्त सिफारिसमा जिल्ला कमिटीले राय दिने काम पनि भइरहेको छ । प्रदेश कमिटीले पनि राय दिन्छ । त्यसपछि केन्द्रिय सचिवालयले उम्मेदवारको टुंगो लगाउनेछ ।

अर्कोतर्फ हामीले निर्वाचन परिचालन कमिटी बनाएका छौँ । अनि प्रदेश र स्थानीय तहसम्मको लागि पनि निर्वाचन परिचालन कमिटी बनाउने तयारीमा छौँ । उम्मेदवार छनाैटका लागि मापदण्ड तय गरेर पठाएको हुनाले त्यही अनुसार उम्मेदवारहरूको नाम सिफारिस भइरहेका छन् । समानुपातिक तर्फका उम्मेदवारको सूची पनि हामी समयमै बनाउँछौँ । निर्वाचनमा हामीलाई आवश्यक पर्ने अरु पनि तयारी गरिरहेकै छौँ ।

सत्तारुढ पाँच दलीय गठबन्धन चुनावमा मिलेर जाने भएको छ । नेकपा एमालेले चुनावी तालमेलका लागि भरपर्दाे पार्टनर भेटाएन ?

हामीले पार्टनर खोजेनौँ । किनभने हामी लोकतन्त्रवादी हौँ । हाम्रो निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष तर्फ १६५ सिट हुन्छ भने बाँकी समानुपातिक तर्फ हुन्छ ।

२७५ सिटमा जसको बहुमत आउँछ उसले सरकार बनाउँछ । तर, बहुमत नआउने पनि हुनसक्छ । अहिलेका गठबन्धन वालाहरु सबै मिलेर पनि भोलि बहुमत आएन भने त्यसबेला उनीहरूले पार्टनर खोजे भने कहाँबाट पाउँछन् ? हामीले त अहिले आफ्नो विचार र सिद्धान्तमा एक्लै चुनावमा जाने हो । यदि बहुमत आएन भने पार्टनर पछि खोज्ने हो ।

हामीले महाधिवेशन गर्यौँ । हाम्रो विचार समाजवादतर्फको यात्रामा छ । अनि उहाँहरु उदारवादी विचार लिनेहरुसँग संयुक्त घोषणा गरेर जादैँ हुनुहुन्छ भने यो गठबन्धनले त एउटै पार्टी बनायो । त्यसकारण एउटा पार्टी उहाँहरु र अर्को पार्टी हामी हौँ ।

वामपन्थीहरुको एउटै पार्टी बनाउँदा टुक्रिएर अहिले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउने र सत्ता सुम्पनेहरुलाई त जनताले के भोट देलान् ? त्यसकारण हामीलाई बहुमत दिनुहोस् ।  हामी चाँही स्थिरता, स्वाधिनता, समवृद्धी र लोकतन्त्रलाई सवल बनाउछौँ भनेर चुनावमा जान्छौँ । उँहाहरुको त त्यस्तो भएन । यदि त्यति गर्दा पनि भएन भने पो बल्ल तालमेल गर्ने हो ।

सुरुमा नै गठबन्धन  गरेर नीतिहिन, सिद्धान्तहिन भएन ? एउटाले आफूलाई माओवादी भन्छ, अर्कोले समाजवादी, अर्कोले मदेशवादी अनि अर्कोले चाँही हामी प्रजातान्त्रीक समाजवादी भन्छ । अनि अहिले नै झालेमाले मिलेर गठबन्धन गरेर हामीलाई प्रतिगमनकारी भन्छन् ।

चुनाव गराउँनु प्रतिगमन हो भने अहिले उँहाहरु प्रतिगमनकै लागि गठबन्धन गर्दैछन् । हिजो संविधानसभा विघटन गर्नु पो प्रतिगमन थियो । प्रचण्ड, बाबुरामहरुले संविधानसभा विघटन गरेका होइनन् ? त्यसकारण प्रतिगमनकारी त्यँहा छन् नी अग्रगमनकारी त हामी हौँ ।

त्यसैले अग्रगमन, राष्ट्रिय स्वाधिनता, लोकतन्त्र, संघीयतालाई प्रभावकारी बनाउने, जनतालाई अधिकार दिने, स्थानीय तहलाई सवलिकरण दिनेलगायतका कुराहरुमा सहमत हुनेहरुलाई हामी चुनाव चिन्ह दिन सक्छौँ । अहिले हामी आफ्नै चुनाव चिन्ह लिएर चुनाव लड्छौँ । त्यसकारण हामीले पार्टनर खोजेका होइनौँ । हामीलाई बहुमत दिनुहोस मात्रै भनेका हौँ । 

तपाईले भर्खरै सिद्धान्तको कुरा गर्नुभयो । यसभन्दा अगाडि पनि एक्लै चुनावमा जान्छौँ भनेर भाषण ठाेक्दै हुनुहुन्थ्यो । केन्द्रिय कमिटिमा पनि त्यो कुरा उठ्यो । अहिले आएर राप्रपासँग चुनावी तालमेलका लागि छलफल त भइरहेको छ, होइन ?

छैन् ! हाम्रो पार्टीको सिद्धान्तसँग सहमत हुनेहरु सबैसँग हामी ओपन छौँ । भाषण ठोक्दै हिडेका पनि होइनौँ । तपाईले उत्तेजित शब्द प्रयोग गर्नु भएन । हामीले हाम्रो विचार प्रष्ट रोखेका हौँ । 

वामदलहरुबीच मिल्ने भन्दा कांग्रेससँग मिलेर समाजवाद खोज्नेहरुसँग एकता हुँदैन भन्ने । अनि राजावादी एजेण्डा बोकेकाहरुसँग जाने ? तपाईँहरुलाई सच्चा कम्युनिष्ट कसरी बन्ने ?

तपाईँले सर्टिफिकेट दिनु पर्दैँन, मतदाताहरुले दिन्छन् । आजकल कम्युनिष्ट भन्नाले जम्मै कांग्रेसका पुच्छर भनेर बुझ्छन् । अर्को कुरा कांग्रेसभित्रै पनि आफ्नो कुनै परिवारको मान्छेलाई प्रधानमन्त्री बनाउन मात्रै यो गठबन्धन बनेको भन्ने गम्भिर आवाज उठेको छ । त्यसकारण यो गठबन्धन धेरै टिक्नेवाला पनि छैन् ।

लुटेर खान मात्रै यो गठबन्धन बनेको हो । लुटेर खाने, व्यपारी राखेर बजेट बनाउनेहरुलाई जनताले भोट दिदैँनन् । राप्रपा जत्तिका पनि यीनीहरु देशभक्त छैनन् । अनि यी देश द्रोहीरुसँग कसरी चुनावमा मिलेर जाने ? यो गठबन्धन सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी  खोइ फर्काएको ? फेरि कागजमा मात्रै गरेर हुन्छ भन्छन् , केपी ओलीले त कागजमै भए पनि गरेर देखाउनुभयाे । यीनीहरु पटक पटक प्रधानमन्त्री हुँदा खोइ गर्न सकेको ? केपी ओलीले नेपाली भूमी फिर्ता गर्दा राप्रपाले त खुलेर नै प्रशंसा गरेको थियो । ठिक छ नी हामीसँग देशभक्त पनि तालमेल गर्न सक्छन् । लाेकतान्त्रीक, कम्युनिष्टहरु पनि हामीसँग तालमेल गर्नसक्छन् ।

अध्यक्ष केपी शर्मा ओलीले १५० सिट जित्ने दावी गर्नुभयो । तर, आधार प्रस्तुत गर्नुभएन । नेकपा एमाले एक्लैले १५० सिट जित्न कसरी सम्भव छ ?

सक्छ ! आधार प्रस्तुत गर्नुपर्ने जरुरत नै छैन् । स्थानीय तहको निर्वाचनमा हाम्रो लोकप्रिय मत यो गठबन्धनको भन्दा बढी छ । स्थानीय तहको निर्वाचनमा सत्ताको दरुपयो गरेर, पैसाको खोला बगाएर, हत्या हिंसा गरेर, पुलिस प्रशासनको चरम दुरपयोग गरेर नेकपा एमालेलाई धुलो चटाउँछौ भनेर यो गठबन्धन लागेको थियो ।

एमालेलाई एक सिट जित्न दिदैनौँ भने पनि गठबन्धन भन्दा लोकप्रिय मतमा त हामी अगाडि छौँ ।  त्यसकारण हामी आफ्नै शक्तिमा विश्वास गरेर आन्तरिक एकतालाई बलियो बनायौँ भने बहुमत ल्याउन सक्छौँ भनेर केन्द्रिय कमिटी बैठकमा सबै प्रदेशका रिपोट हेरेर  १५० सिट जित्ने विश्लेषण गरेका हौँ । त्यसैले उहाँले भनेको कुरा पनि सत्यको नजिक नै छ ।

प्रचण्डले खुलेर  नेकपा एमालेसँग तालमेल हुन्छ भन्नु भएको छैन् । तर, संकेत चाँही गर्नुभएको छ । कांग्रेसले सिटबाँडफाटमा अटेर गरे संयुक्त वाममोर्चासहित चुनावमा जान्छौँ भन्नुभएको छ । यदी नेकपा माओवादी नेकपा एमालेसँग मिल्न आयो भने ढोका खुला छ या बन्द ?

अब उहाँहरुको आफ्नै समस्या होला । उहाँले भनेको कुरा मैले पनि सुने । संसद विघटनलगायतका कुराको समिक्षा गनुपर्छ भन्नुभएको छ । उहाँको लागि हामीले कुनै कुराको समिक्षा गर्नुपर्दैन । हामी जनताको लागि समिक्षा गर्ने हो । उहाँहरुको सजिलोको लागि बनेको पार्टी होइन् । यो देश र जनताको लागि बेनको पार्टी हो । उता बार्गेनिङमा कुरा नमिल्दा एमालेसँग मिल्ने धम्की दिँदा न कांग्रेसले पत्याउँछ न हामीले पत्याउँछौँ ।

त्यस्तो भए नेकपा एमाले एक्लै चुनावमा होमिए बुहमत ल्याउने पक्का पक्की हो ?

हाम्रा सहि बिचार छन् । नेकपा एमाले नेतृत्वको सरकार हुँदा हामीले थुर्पै राम्रा काम गर्दैै थियौँ । तर, हामीलाई गर्न दिइएन । अहिले हेर्नुहोस त भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि यता बारम्बार बढाएको छ । इतिहास कै सबैभन्दा बढी मूल्य बृद्धी भएको छ । यो गठबन्धन जनतालाई मारमा पारेर लुटेर खानको लागि बनेको हो । यो लुटेरा गठबन्धनलाई त जनताले के भोट देलान् । त्यसकारण हाम्रो जित सुनिश्चित छ ।काठमाण्डुपाटीबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया