काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निजामती कर्मचारी सेवा ऐन छिटो ल्याउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि पनि कर्मचारी लाग्नुपर्नेमा जोड दिनुहुँदै जुनसुकै विचारधारा बोकेका भए पनि कर्मचारीले कार्यसम्पादनका क्रममा भने पूर्वाग्रहरहित काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कर्मचारीमैत्री निजामती ऐन छिटो ल्याउन सरोकार भएका निकायलाई निर्देशन पनि दिनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीसँग वार्ता गरेर निजामती ऐनलाई अन्तिम रूप दिई छिटो संसदमा पेस गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि छिटोभन्दा छिटो निजामती कर्मचारी ऐन ल्याउन माग गर्नुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती सेवा ऐनमा ट्रेड युनियन अधिकार र कर्मचारीको वृत्ति विकासको अधिकार कटौती नगरिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री श्रेष्ठले ऐन जारी गर्न सबै दल एवं पक्षसँग सहमति गरी सरकार अघि बढ्न लागेको जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया