काठमाण्डौंः पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।
बुधबार उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडी र विश्वविद्यालयका रजिस्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति ओपिडीको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा पहिलो बिरामीका रूपमा स्थानीय महिला सुशीला रेग्मीलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मदन खड्काले उपचार गरी कार्यको थालनी गरिएको थियो । उपकुलपति प्रा डा अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयका लागि अपरिहार्य रहेकाले त्यसको सुरुआत गर्न सकिएकामा आफू अत्यन्तै भाग्यमानी रहेको बताउनुभयो ।
विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गिक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठनपाठन सुरु गर्ने प्रतिबद्धता अर्यालको छ । हाल एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एक जना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट शुल्क लिएर बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने बताइएको छ ।
दुई जना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुनेछ ।
अस्पतालमा दैनिक एक सयदेखि दुई सय जनासम्मलाई ओपिडीमा सेवा दिन अस्पताल जनशक्ति तम्तयार रहेको जनाइएको छ । आकस्मिकका लागि १० शय्या र ९० साधारण शय्या राख्ने गरी कार्य अगाडि बढाइने जानकारी विश्वविद्यालयले दिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया