श्रावण ६, २०८२ मंगलबार July 22, 2025

देशभरका मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर भूमिसँग सम्बन्धित काम छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाएको छ ।

मालपोत तथा नापी कार्यालयमै नगई पब्लिक एक्सेस मोड्युलको प्रयोगबाट बैंक तथा वित्तीय संस्था तथा कर्मचारी सञ्चय कोष समेतले जग्गा रोक्का वा फुकुवा गर्न सक्ने व्यवस्था लागू भएको छ ।

यसबाट जग्गाधनी वा बैंक तथा वित्तीय संस्थालाई पनि कार्यसम्पादन गर्न सहज भएको छ । विशेषगरी निजामती एवं विभिन्न सरकारी निकायका कार्यरत कर्मचारीले कर्मचारी सञ्चय कोषमार्फत ऋण लिँदा राखिने जग्गा रोक्काको कामसमेत यसबाट थप सहज भएको छ ।

त्यस्तै घर वा जग्गाको फुकुवासमेत मालपोत कार्यालयमै नगईकन काम हुने गरी व्यवस्था गरिएको छ । यसले सहज रूपमा सेवाग्राहीले सुविधा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सेवालाई विश्वासिलो, भरपर्दो बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको जानकारी दिइन् । सूचना तथा प्रविधिको प्रयोगबाट उपलब्ध हुने सेवाबाट आर्थिक अनियमितता रोक्न सकिने र अनावश्यक झन्झटसमेत बेहोर्नु नपर्ने उनको भनाइ छ । साथै सेवाग्राहीले सहज रूपमा काम गर्न सक्ने वातावरण सृजना भएको उनले बताइन् ।

जग्गा प्रशासनसम्बन्धी सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका १२६ ओटै भूमिसुधार तथा मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन सेवा प्रवाह भएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रणालीगत सबलीकरणअन्तर्गत हार्डवेयरको स्तरोन्नति कार्य सम्पन्न भएको छ ।

प्रणाली नचलेको तथा सर्भरमा समस्या भएको जस्ता बहाना देखाएर सेवाग्राहीलाई दु:ख दिनसमेत नसक्ने गरी प्रणालीको स्तरोन्नति गरिएको छ । देशभरका मालपोत तथा नापी कार्यालयमा कर्मचारीको आकर्षण बढाउन पनि यस खालको व्यवस्था गर्नुपरेको सरकारको बुझाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सरकारी निकायमध्ये सबैभन्दा बढी आर्थिक अनियमितता हुने निकायका रूपमा मालपोत र नापी कार्यालय छन् । सेवाग्राही र कर्मचारीको भेट नै हुन नपर्ने व्यवस्था गरिएपछि आर्थिक अनियमितता समेत रोक्न सकिने सरकारको बुझाइ छ । सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइनमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ भूमिसुधार तथा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ ।

सो प्रणालीको प्रयोगबाट कार्यसम्पादनमा समेत सहजता पैदा भएको छ । मालपोत कार्यालयमै नगईकन बैंक तथा वित्तीय संस्था एवं कर्मचारी सञ्चय कोषले समेत जग्गा रोक्का राख्न वा फुकुवा गर्न सक्छन् । सो सेवा हाल कलंकी र ललितपुर मालपोत कार्यालयबाट शुरू गरिएको छ । अन्य मालपोत कार्यालयमा पनि लागू गर्ने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

नापी कार्यालयबाट प्रदान गरिने सेवालाई सरल एवं सहज बनाउन नक्सा प्रिन्ट लगायत सेवा अनलाइनमार्फत जुनसुकै स्थानबाट प्राप्त गर्न सकिने गरी विकास गरिएको ‘मेरो कित्ता’ प्रणाली र नेपाल भूसूचना प्रणालीबाट ५० नापी कार्यालयमा सेवा प्रवाह गरिएको छ ।

मन्त्रालयबाटै मालपोत र नापी कार्यालयको गतिविधि एवं सेवा प्रवाहको अवस्था अनलाइन प्रणालीको माध्यमबाट नियमन गर्न सकिने प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ । मालपोत कार्यालयलाई मन्त्रालयबाटै प्रत्यक्ष रूपमा अनुगमन तथा निरीक्षण गर्न सकिने गरी सीसीटीभी सर्भिलेन्स सिष्टम स्थापना गरिएको छ । यसबाट कर्मचारी सर्भर नचलेको वा प्राविधिक समस्या भएको भनेर सेवाग्राहीलाई दु:ख दिने सम्भावना क्रमश: अन्त्य भएको छ ।

सबै मालपोत कार्यालयको सेवा प्रवाहका लागि प्रयोगमा रहेको नेटवर्क मन्त्रालयबाटै अनुगमन गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएपछि हरेक दिनको विवरणसमेत सहज भई उपलब्ध हुने गरेको छ । यसबाट मालपोत कार्यालयबाट प्रवाह भएको सेवा संख्या तथा संकलन भएको राजस्वको विवरणसमेत प्राप्त हुने गरेको छ । सूचना प्रविधिको प्रयोगले भूमि प्रशासनमा गुणात्मक परिवर्तन भएको र त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया