काठमाडौँ । नेपालमा गाँजा खेतीलाई कानूनी मान्यता प्रदान गर्नु पर्ने मागसहित सांसद शेरबहादुर तामाङ्गले प्रतिनिधिसभामा निजी (गैरसरकारी) विधेयक दर्ता गराएका छन् ।
पूर्व कानून मन्त्रीसमेत रहेका तामाङ्गले सोमबार संसदको विधेयक शाखामा गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्कसहितको निजी विधेयक दर्ता गरेका हुन् ।
उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा आर्थिक विकासको ढोका खोल्नका लागि गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्क गरेका छन् ।
सांसदले गैरसकरारी विधेयक दर्ता गराउन पाउने संवैधानिक व्यवस्था अनुसार तामाङ्गले सोमबार गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्कसहित विधेयक दर्ता गराएका हुन् ।
नेपालमा लागु औषध निवारण ऐन, २०३३ ले गाँजा खेतीलाई निशेष गरेको छ । तर संसदमा पछिल्लो केही समयदेखि गाँजा खेतीको पक्षमा सांसदहरुले आवाज उठाउँदै आएका छन् ।
यसअघि नेकपाका सांसद विरोध खतिवडाको नेतृत्वमा ४६ सांसदले गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने मागसहितको सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने बहस सतहमा आएको हो ।
सोही बहसको क्रममा सांसद तामाङ्गले निजी विधेयक दर्ता गरी गाँजा खेतीलाई वैध बनाउने कानून बनाउन माग गरेका हुन् ।
२०४६ यता संसदमा दर्ता भएका निजी विधेयक मध्ये तीनवटा मात्रै पारित भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया