श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टेलिकमले शुक्रवारदेखि निःशुल्क इ-सिम वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले शुक्रवारदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिनेछ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले उक्त सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनु पर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया