असार ३०, २०८२ सोमबार July 14, 2025

आगामी निर्वाचनमा गोरखा-२ बाट उम्मेदवार नबन्ने डा. बाबुरामको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गरेका छन् । भट्टराई आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा नउत्रिने भएका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बॉकी रहेका उनले बताए ।

बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको प्रतिबद्धता छ ।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले बताए । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहने उनको भनाइ छ ।

भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया