चैत्र १६, २०८० शुक्रबार March 29, 2024

‘मधेसको भलो होस् भन्ने मेरो चाहना हो।’ – महन्त ठाकुर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीको चुनावी तयारी कस्तो छ ?

चुनावी तयारी राम्रै छ। अहिले घरदैलो अभियान कार्यक्रम चल्दैछ। गाउँ–गाउँ वार्ड–वार्डमा कोणसभाहरू भइरहेका छन्। एकडारा, मटिहानी, जलेश्वर, पिपरा लगायतका स्थानहरूमा पनि कोणसभाहरू तय गरिएको छ।

अघिल्लो निर्वाचनमा जाँदा र यो पटक मत माग्दा जनतामा के फरक पाउनुभयो ? 

पाँच वर्षमा धेरै परिवर्तनहरू भएका छन्। सडक, धार्मिक आस्थासम्बन्धी मठ मन्दिर, पार्टी पौवा, मस्जिद, कबरगाह, इदगाह, मदरसा, मस्जिदलगायत थुप्रै काम भएका छन्। सिँचाइमा काम हुँदैछ। जलेश्वरको भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य, शिक्षासहितको क्षेत्रमा थुप्रै कामहरू भएको छ। यता घुम्नु भयो भने पहिले अहिलेको क्षेत्रमा व्यापक सुधार भएको पाउनुहुनेछ।

जनजीविकाको के परिवर्तन पाउनुभयो ? 

जनजीविको सवाल मुख्यतः रोजगारीसँग जोडिएको छ। जनजीविकाको सवाल यहाँको अथवा महोत्तरी वा मेरो क्षेत्र नं. ३ को मात्र सवाल होइन्। पूरै देशको र विशेषतः मधेसको समस्या हो। अहिले पनि विभेद छँदैछ। विभेद हटिसकेको छैन। एउटा मात्रै पहिचानको आधारमा राज्यको स्थापना भएको छ। अरू स्थानमा त त्यो पनि हुन सकेको छैन। परिवतर्नकारी शक्ति अन्य स्थानमा त अल्पमत नै परेको छ। पहिला मधेस शिक्षामा धेरै अगाडि थियो तर अहिले धेरै पछि पर्‍यो। जति स्कुल कलेज र शिक्षकहरू हुनुपर्ने हो त्यति छैन।

एउटा शिक्षकले सय विद्यार्थी हेर्नुपर्छ। देशमा रोजगार छैन। मानिस वैदेशिक रोजगारमा गैरहेको छ। यहाँको मानिस त झन् अत्यधिक मात्रामा गैरहेको छ। महोत्तरी झन् त्यसमा अग्रस्थानमा छ। घरेलु उद्योग धन्दालाई टार्गेट ग्रुपसँग पुर्‍याउने र जनजीविकाको सवालसँग जोड्ने प्रयास छ। विशेषतः दलित समुदायले काम मागिरहेको अवस्थामा साना उद्योग जस्तै धागो काट्ने, बाँसको भाडावर्तन, सिलाइ, बुनाइ जस्ता विषयसँग जोडेर जनजीविकासँग जोड्न प्रयासरत छु।

परिवर्तनको नाममा उद्योग कलकारखाना सबै मासिए, कसरी पुनस्र्थापना गर्ने ? 

राजनीतिक स्थिरता कहिल्यै पनि थिएन नेपालमा। रोजगारीको मुख्य आधार उद्योग, कलकारखानाको संस्थागत विकास नै भएन यहाँ। मुठीभर व्यक्तिको हात सारा चिज भएपछि अधिकार वितरण नहुँदा सबै गुम्यो। जसले गर्दा असमानता बढी भयो। जसको परिणाम समय–समयमा विद्रोह भयो। सत्ता परिवर्तन भयो।

लोकतन्त्र आइसकेपछि पनि कुनै सरकार पाँच वर्ष टिक्न सकेन्। जसले परस्पर विकास हुन सकेन्। विस्तारै धाराशाही भएर गयो। परिवर्तनको नाममा चाहिँ कलकारखाना मासियो भन्नु ठीक हैन। अधिकारको नाममा विभेद, जातीय आधारमा विभेद, क्षेत्रीय अधिकारमा विभेद यस्ता विभेदले कुनै पनि चिजको विकास भएन्।

अहिलेको संरचनाले कसरी विभेदकारी गर्‍यो ? 

विभेदै विभेद छ। जता हेर्नुस् त्यता विभेद छ। जातीय, क्षेत्रीय, भाषा, संस्कृतिको विभेद भएको सबैले स्विकार्छ, अन्त्य गर्ने पनि भन्छ तर, अन्त्य भएको छैन। कसरी अन्त्य गर्ने ? तभन्दा केन्द्रीकृत शासन व्यवस्थालाई संरचना बदलेर, संघीय ढाँचामा पहिचानको आधारमा राज्य प्रदेशहरू बनाउने तर एक राज्यहरूभन्दा बढी पहिचानको आधारमा राज्य बनाउने। जसरी मधेस प्रदेश छ। यहाँको अन्य जिल्लाहरू तोडमडोेर गरेर पहाडमा मिलाई दिएको छ। समस्या अहिले पनि नागरिकताको समस्या पनि संरचनागत समस्या हो। कानुन बन्यो तर आमनागरिकले नागरिकता पाएन कारण राष्ट्रपतिले कानुनमा हस्ताक्षर गरिनन्।

अहिलेसम्मको हरेक आन्दोलनमा राज्यबाट हिंसात्मक हस्तक्षेप भएको छ। मानिसहरू मारिए, जेलमा राखिए, त्यसमा पनि विभेद छ।

मधेस थरुहटका मानिसहरू जेलमा पाँच वर्षभन्दा बढी भयो तर पनि जेलमै छन् तर अरू आन्दोलनको कोही जेलमा छैन। सहिद घोषणा गर्‍यो तर त्यही आन्दोलनको आन्दोलनकारीहरूलाई अपराधीकरण गरियो। यदि अपराध थियो भने किन सहिद घोषणा गरियो ? सहिदलाई १० लाख रुपैयाँ र केहीलाई रोजगारी पनि दिइयो। अझै बाँकी नै छ।

अघिल्लो निर्वाचनमा सहिद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा थियो के भयो ? 

मधेसमा एकल पार्टीको सरकार भएन। सुरुमा दुई पार्टी मिलेर सरकार बन्यो। दुईधार एउटै भए पनि पार्टी फरक थियो। म त के भन्छु भने ५० लाख दिने अवस्था नै न आओस्। सहिद चाहेर हुँदैन मृत्युपर्यन्त पाउने सम्मान सहिद हो। अब चाहिँ त्यस्तो अवस्था नै नआओस् भन्ने मेरो चाहना हो। हाम्रो बसको कुरा भएको भए ५० लाख मात्र किन त्योभन्दा बढी पनि दिन सकिन्छ।

मधेस आन्दोलन भयो, उपलब्धि पनि हासिल भयो, तर २२ जिल्लाको मधेस ८ जिल्लामा संकुचित भएन ? 

हामीले आन्दोलन गर्‍यौं, सम्झौता भयो। संविधानसभाबाट एउटा समिति निर्माण भयो। जसको काम थियो राज्यको आधार निर्माण गर्नु। भाषा, संस्कृतिलगायत स्रोत साधनबाट प्राप्त हुनेबाट राज्य कसरी चलाउने भनेर १६ राज्यको सुनिश्चितता गर्नुपर्छ भनेर प्रतिवेदन बुझाइयो। पछि विज्ञहरूको सुझाव समितिले ११ राज्यको परिकल्पना गर्‍यो। तर, उक्त प्रतिवेदनहरूलाई उपेक्षित गरेर वैधानिक निकाय संविधानसभामा पेस भयो तर प्रस्तावनामा भनिएअनुसार राजनीतिक सहमति हुन सकेन ।

जसको परिणाम हामीले राजनीतिक आन्दोलनमा जानुपर्‍यो। किनभने बाउन्ड्रीहरूमा जुन ओभरल्यापिङ छ। जुन भूभागलाई पहाडमा मिलाइएको छ। अर्को हाम्रो सुरु देखिको माग थियो जनसंख्याको आधारमा प्रतिनिधित्व तर त्यो भएन्। १४ लाख जनसंख्या भएको कर्णाली प्रदेशमा पनि दुई राष्ट्रियसभा सिट छ, र ५४ लाख जनसंख्या भएको मधेसमा पनि दुई सिट छ। यो पनि त विभेद हो। नेपाली नपढी रोजगारी पाउनु हुन्न !

योभन्दा बढी संकुचित के हुन सक्छ ? 

सरकार बनाउन पो गठबन्धन हुन्छ त। अहिले त निर्वाचन लड्न पनि गठबन्धन भन्ने प्रश्न छ नि ! दलहरूप्रतिको अविश्वास होइन्। संस्थागत विकास राजनीतिको भएन छैन। हाम्रो चैं जनता शान्ति प्रिय छ तर पोलिटिकल हिस्ट्रि शान्तिप्रिय छैन। हिंसात्मक, षड्यन्त्रपूर्ण, धोकाधडी, आपसमा भिड्ने, मारकाट जस्ता अशान्तिले गर्दा पोलिटिकल हिस्ट्रि संस्थागत भएको छैन।

मधेसवादको नारा ओझेलमा परे जस्तो लाग्दैन ? 
हैन, अझ बढ्छ, असन्तुष्टि छ। बेरोजगारले खाना माग्छ, असन्तुष्टिले आन्दोलन हुन्छ। मधेसवादको नारा झन् बढ्छ। जनतालाई स्विकार गरिएन भने त्यसले आफ्नो वाद समातेर अधिकार प्राप्तिको आन्दोलन गर्छ। हामी नेपाली हौं तर हामीलाई नेपाली भन्दैन्न। कागजमा नेपाली भन्छ तर बाहिर हिँड्छौं, मधेसी भन्छ। हो हामी मधेसी हौं, गर्वका साथ भन्छौं। जानकी सीता, गौतमबुद्ध हाम्रो हुने तर यहाँको जनता हाम्रो नहुने ?

नागरिकता नपाउनुको मतलव के ? 

गौतमबुद्ध राजकुमार थिए। उनको आफ्नो राज्य थियो तर जनक राजा थिए, उनको आफ्नो राज्य थियो, सीता राजकुमारी थिइन् तर उनीहरूलाई किन अरूको नागरिकता लिनुपर्‍यो ? यी सबै आधारहरू हेर्दा मधेसवाद अझ बढेर जान्छ। मानिस हैन, मधेसी हो भन्ने अपमानजनक शब्दका रूपमा हामीलाई उभ्याइयो। त्यसैले हो हामी मधेसी हौं भनेर भन्यौं। अनि मधेसवादी स्खलित हुन्छ ? कहिल्यै पनि हुँदैन।

कागजमा नेपाली, वास्तविक मधेसी हो भनेर भन्न खोज्नुभयो ? 

वास्तविक नेपाली हामीलाई राज्यले कहिल्यै ठानेको छैन। मानेको छैन। मधेसको मान्छेले त के भन्छ भने हामी त अहिले पनि आफ्नै देशको आन्तरिक उपनिवेशमा छौं। कुनै पनि चिजमा हाम्रो हिस्सा छैन। उपस्थिति छैन। त्यो त भनिरहेको छ नि !

कांग्रेस छोडेकोमा पछुतो लागेको छ कि छैन ? 

काँग्रेस फोडेर आएको होइन्। छोडेर आएको हुँ। त्यसैले कुनै पछुतो छैन। मधेसका लागि काम गर्न आएको हुँ, मधेसका लागि काम गर्दैछु। अब तपाँई सोध्नु होला कि चुनावमा किन आउनु भो ? मेरो उत्तर हुन्छ– जनतामा रहनका लागि आएको।

मधेस मुद्दा अब के हुन्छ ? 

मधेस मुद्दा कि समाधान हुन्छ कि विस्फोट हुन्छ। दुईमध्ये एक हुन्छ। पहिचानको आधारमा जुन भेदभाव भयो, त्यसलाई हटाउन सहमति नै भएको छ। एजेन्डाहरू क्रमशः बिर्सिर्दै गए। आन्दोलनकारीहरू सत्तामा गए, बिर्सिसके त्यसैले समस्याहरू दिनप्रतिदिन चाहिँ बिग्रदै गयो। यस्तै रह्यो भने कुनै दिन विस्फोट हुन सक्छ। हिमालमा भएको बरफ गर्मीले पगलिँदैन आफ्नै प्रेसरले पग्लिन्छ।

त्यसैगरी बाटो नपाएको नदीलाई बाध्नुभयो भने बाँध फुटाउँछ, त्यसरी नै जनताको समस्याको सम्बोधन गर्नुभएन भने जनताले राज्यलाई नै तोडिदिन्छ। बाउन्ड्री सीमाहरू दुनियाँमा बदलिएको छ, कारण के हो ? त्यही हो। त्यत्रो ठूलो देश रूस त बिभिन्न राज्यहरूमा परिवर्तन भए किन ? त्यसरी नै हामी कल्पना पनि गर्न सक्दैनौं। कि परिवर्तन कहिल्यै हुन्छ।

तपाईंको पार्टी विस्तारै किन खुम्चियो ? 

खुम्चिएको होइन्। संगठनात्मक रूपमा खुम्चिएको होइन्। प्रतिनिधित्वका रूपमा हामी कम भएका छौं। तर, खुम्चिएका होइनौं। प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो पार्टी एमाले हो तर बहुमत कांग्रेससँग छ। त्यसै कारण पार्टी सिस्टममा सत्ता बनिरहन्छ।

एउटै पार्टीको सत्ता सधैं रहँदैन् त्यसलाई खुम्चिने भन्दैन्। जनताको अधिकार हुन्छ। चान्स दिन्छ जनता। राम्रो काम गरे पनि जनताले पल्टाइदिन्छ, नयाँलाई हेर्ने दृढ संकल्पले, नराम्रो काम गर्नेको झनै कुरै नगरौं।

हृदयेश त्रिपाठी, बृषेशचन्द्र लाललगायत धेरै नेताहरू तपाईंसँग असन्तुष्ट भएर साथ छोड्नु भयो नि ! 

साथ छोड्नु ठूलो कुरा होइन्। पार्टी सिस्टममा साथ छोडेर जाने र आउने निरन्तरको प्रक्रिया हो। चुनावको समयमा पनि नयाँ साथीहरू आउनुभएको छ। केही छोडेर पनि जानुभएको छ। यो जाने आउने कुरा राजनीतिको सामान्य विषय हो।

कांग्रेससँग मिलनको सम्भावना कति छ ? 

प्राथमिकता, माग र मुद्दाहरूको हुन्छ। हामी प्राथमिकता मिलन र बिछोडको सम्भावना हुन्छ। एउटा सीमासम्म मधेसी नेतालाई अगाडि बढ्न दिन्छ, त्यसपछि खुम्च्याइन्छ। त्यसैकारण कांग्रेससँग त के माओवादीसँग पनि मिलन हुन सक्छ। प्रचण्डजी प्रधानमन्त्री भएको बेला मैले चेक हैन, क्यास चाहियो भनेको हुँ। उहाँसँग लेखेर हैन, गरेर देखाइदिनु भयो, उहाँले गर्नु पनि भयो। तर, सफलता हासिल भएन्।

हाम्रो पीडाको जहाँबाट उपचार हुन्छ, धामी, झाँकी, डाक्टर जोसुकैले पनि हाम्रो उपचार खोज्छ उहीसँग मिलन हुन सक्छ। एउटा शब्दमा भन्नुपर्दा– जसले हाम्रो समस्याको समाधान खोज्छ, हामी उतै जान्छौं।

कांग्रेससँग पार्टी एकीकरणको सम्भावना के छ ?

त्यो विषयले अहिलेसम्म प्रवेश पाएको छैन। जुन विषयमा चर्चा नै भएको छैन। त्यो विषयमा केही नभनौं। त्यो हामीले अहिले सोचेकै छैनौं।

संसद् विघटनको बेला प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको थियो। त्यो स्विकार नगरेर किन ओलीसँग सहकार्य गर्नुभएको थियो ? 

म मधेसका लागि आएको हो। प्रचण्डले जीले पनि भन्नुभयो, कांग्रेसका नेताजीहरूले पनि भन्नुहुन्थ्यो। तर, त्यो सबै मैले छोडेर आए। मधेसले केही पाए मलाई लाग्छ कि, त्यही मेरो सबैभन्दा ठूलो उपलब्धि हो मेरो।

म त्यसैले आफ्नो सबैभन्दा ठूलो उपलब्धि ठान्छु। त्यो बराबरीको अवस्था आएपछि हेरौंला। ममा लालसा भएको भए म कांग्रेसमा रहन्थे नि! म त्यो ठाउँमा पुगिसकेको थिए। दिने के लिन्थे नि, त्यो अवस्था त्यतिबेला मेरो थियो। तर मैले त त्यो सब छोडेर आएँ। अब त्यो प्रस्ताव रुचिको विषय थिएन। त्यसैले म अस्विकार गरे।

तपाईं स्वयम् प्रधानमन्त्री बनेर पनि समस्याको समाधान निकाल्न सक्नुहुन्थ्यो नि! 

मैले भने नि पोलिटिकल स्थिरता हाम्रो यहाँ छैन। अपार बहुमत भएको पार्टीको सरकार त कहाँ गयो कहाँ ? त्यसैले स्थिरता आउँछ तब न जनताको समस्या सामाधान हुन्छ। त्यो स्थिरता आएकै छैन।

प्रशासन कसरी चेन्ज गर्ने ? अंग्रेजले भारत छोडे पनि कर्मचारीहरू त्यही रह्यो, अंग्रेज गएन्। भारतीयहरू ट्रन्ड भैसकेको थिए। अंग्रेजहरू जान साथ सारा चिज रिप्लेस भयो तर हाम्रो त्यो अवस्था छैन। हाम्रो शासक राजा त यही बसिराछ।

तपाईंको राजनीतिक यात्राको विश्राम लिने बेला भएन ? 

त्योचाहिँ नेगेटिभ कुरा हो। राजनीतिमा उमेरले फरक पार्दैन्। राजनीतिमा विश्राम भन्ने चिज हुँदैन। ४५ वर्षको उम्मेरमा क्यानेडी, अमेरिका जस्तो देशको राष्ट्रपति हुन्छ। मोरारजी ७९ वर्षको उमेरमा प्रधानमन्त्री भए भारतको। त्यसकारण उमेर चाहिँ जनताले चाहे उमेरले केही फरक पर्दैन्।

राजनीतिक जीवनको तपाईंको इच्छा के हो ? 

मधेसको भलो मेरो अन्तिम इच्छा हो। यहाँको जनताले अधिकार सम्पन्न देश, प्रदेश र सम्पन्नता पाओस्। मेरो इच्छा त्यति हो।

राष्ट्रपति र प्रधानमन्त्री बन्ने मौका आयो भने के गर्नुहुन्छ ? 

हास्दै … अहिले त्यो अवस्था आइसकेको छैन। अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार