वैशाख ६, २०८१ बिहिबार April 18, 2024

हामी फरक-फरक पार्टीमा भए पनि एउटै मिसन बनाएर अगाडि बढ्न सक्नुपर्छ । : मानुषी यमी भट्टराई (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचन प्रचारको अवधि करिब–करिब सकिनै लाग्यो । कस्तो रह्यो तपाईंको प्रचार अभियान ?

चुनावी अभियान मैले सोचेभन्दा धेरै उत्साहजनक र सकारात्मक रह्यो । म राजनीतिशास्त्रको विद्यार्थी, पिएचडी गर्दै छु । समाज विज्ञानका विद्यार्थीलाई पठाउँछु पनि । १५ वर्षको उमेरदेखि नै सामाजिक कार्यमा संलग्न भइरहँदा हिजोको दिनमा समस्याको व्याख्या, विश्लेषण बढी गरेँ होला । अब त समाधान निकाल्छु, काम गरेर देखाउँछु, परिणाम निकाल्छु भनेर उम्मेदवारी दिएकी छु । जनताका वास्तविकतालाई कसरी आत्मसात् गर्ने, जनताका भावनालाई कसरी ग्रहण गर्ने भन्ने शिक्षा मैले लिइरहेकी छु । एकदम धेरै जिम्मेवारीबोध महसुस गरिरहेकी छु । मैले सोचेभन्दा धेरै माया मतदाताबाट पाएकी छु । जनअपेक्षा कसरी पूरा गर्न सक्छु भन्नेमै केन्द्रित भइरहेकी छु ।

मतदाताकहाँ के एजेन्डा लिएर जानुभएको छ ?

प्रतिबद्धतापत्र तयार पार्नुअघि मैले सुझाव संकलन अभियान सञ्चालन गरेकी थिएँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेकी थिएँ । युवा पुस्ताको सुझाव– यही देशमै आफ्नो ज्ञान, क्षमताको उचित मूल्य हुनुपर्छ । सम्मानित जीवन नेपालभित्रै जिउन पाउनुपर्छ भन्ने थियो । हाल आइटी क्षेत्रमा पनि नयाँ पुस्ताको आकर्षण छ । घरमै बसेर आउट सोर्सिङबाट गर्ने कामलाई कसरी सुरक्षित बनाउने भन्ने विषय पनि छ । विविध सम्भावनाको पहिचान गरेर राज्यको तर्फबाट कसरी बढीभन्दा बढी सुरक्षित गराउने, कसरी लगानी भित्र्याउने भन्ने विषय पनि हाम्रो एजेन्डा छ ।

विशेषगरी, स्थानीय तहमा खानेपानी, बाटो, ढललगायतका समस्या छन् । ती समस्याको समाधान गर्नुका साथै सार्वजनिक स्थल, ऐतिहासिक सम्पदा, पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने, कृषकलाई समयमै मल उपलब्ध गराउने, अनुदान कृषकसम्म पुर्‍याउने, महिला उद्यमशीलता बढाउनेलगायतका थुप्रै विषय छन् । जनस्तरमा जे विषय उठेका छन्, ती विषयलाई नै मैले एजेन्डा बनाएकी छु ।

एउटा सांसदले संसद्मा गर्नुपर्ने मुख्य भूमिका भनेको नीति निर्माण नै हो । विधेयकमाथि छलफल गर्ने र जनपक्षीय बनाउन पहल गर्ने नै हो । अहिलेसम्म अधुरा रहेका विधेयकलाई अगाडि बढाउन मैले पहल गर्नेछु । उदाहरणका लागि शिक्षा विधेयक पारित हुन बाँकी छ । अरू, थप नयाँ कानुन बनाउन पनि पहल गर्नेछु । भ्रष्टाचारविरुद्ध अख्तियारजस्ता संस्थाले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । अधिकारसम्पन्न र निष्पक्ष खालको जनलोकपालको अवधारणा अगाडि बढाएर जानुपर्नेछ ।

मतदाताको रेस्पोन्स कस्तो पाउनुभएको छ ?

मतदाताको रेस्पोन्स सकारात्मक र उत्साहजनक छ । मतदाताले आमरूपमा नयाँपन खोजेका छन् । हिजोकै निरन्तरतामै, हिजोकै तौरतरिकामा अगाडि बढ्ने हो भने मंसिर ४ गतेको निर्वाचन कसका निम्ति ? केका निम्ति ? भन्ने खालको प्रश्न मतदातामा छन् । विगतका जनप्रतिनिधिहरूप्रति मतदाताका गुनासा व्यापक छन् । त्यसकारण पनि अब आउने जनप्रतिनिधि युवा पुस्ताका जुझारु होऊन्, सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राखून् भन्ने जनभावना छ । त्यही अपेक्षाअनुरूप नै गठबन्धनबाट हामी उम्मेदवार छौँ । हामी विद्यार्थी पृष्ठभूमिका छौँ । गठबन्धनका उम्मेदवारले केही नयाँ गरेर देखाउँछन् भन्ने अपेक्षा मतदाताले गर्नुभएको छ ।

तपाईंमाथि पारिवारिक विरासतको बलमा टिकट पाएको आरोप छ, आफ्नै क्षमता र योग्यताले टिकट पाएकी हुँ भन्ने आधार कसरी दिनुहुन्छ ?

मैले अगाडिदेखि नै अब राजनीतिमा हाम्रो पुस्ता आउनुपर्छ भन्दै आएकी हुँ । त्यहीअनुसार गठबन्धन निश्चित नहुँदादेखि नै मैले तयारी गरिरहेकी थिएँ । मेरो स्वाभाविक छनोट क्षेत्र नम्बर ७ नै हो । किनकि म यहीँको मतदाता हुँ । म यहीँ जन्मेकी, हुर्केकी हुँ । मेरो राजनीतिक रूपमा कार्यक्षेत्र पनि यही बागमती प्रदेश नै हो । पार्टीको तर्फबाट म बागमती प्रदेशको मुख्यसचिव छु । मेरो बुबाकै क्षेत्र गोरखा गएको भए परिवारवाद, विरासत आदि–इत्यादि भन्न जायज हुन्थ्यो होला । तर, यहाँ आफ्नै बलबुतामा, आफ्नै कार्यक्षेत्रमा जनताको मन जितेर, एजेन्डा पेस गरेर प्रतिनिधिसभामा जान खोजिरहेकी छु । यो स्वतः पाउने लाभको पद होइन, जनताले चाहेको खण्डमा मत दिने प्रणालीबाट छानिएर जान खोजिरहेकी छु । परीक्षणको प्रक्रियाबाटै गुज्रिएर जान चाहेको हुनाले यहाँ मेरो आफ्नो क्षमता, आफ्नो प्रतिबद्धता र ती प्रतिबद्धतालाई पूरा गर्न सक्ने सामथ्र्य मैले कत्तिको राख्छु भन्ने कुरामै मतदाताले मूल्यांकन गर्नुहुनेछ । मैले मतदाताको मन जित्न सक्छु भन्ने आत्मविश्वास लिएकी छु ।

चुनाव आफ्नो पक्षमा आउँछ भन्ने दाबी गर्नुभएको छ, तपाईंको पार्टीको बलियो जनमत छैन, के आधारमा जित्छु भनिरहनुभएको छ ?

नेपालमा बहुसंख्यक मतदाता पार्टीमा आबद्ध छैनन् । यो पहिलो यथार्थ हो । पार्टीगत रूपमा मात्रै हामीले हेर्ने हो भने त्यसले सही परिणाम देखाउँदैन । अबको युगमा पार्टी पनि हेर्छन्, एजेन्डा पनि हेर्छन्, त्यसभन्दा बढी एजेन्डालाई कत्तिको न्याय गर्न सक्छन् ? जनताको मुद्दालाई कत्तिको परिणाममा उतार्न सक्छन् ? भनेर उम्मेदवारलाई हेर्ने जनचाहना बढ्दो छ । उपलब्ध उम्मेदवारहरूमध्ये सबैभन्दा सकारात्मक ऊर्जा प्रवाह कोबाट हुन्छ ? कसले कामहरू पूरा गर्न सक्छ ? कसले संसद्मा गएर निर्धक्क रूपमा यस क्षेत्रका जनताको आवाज राख्न सक्छ ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा देश र जनताको हितलाई केन्द्रमा राखेर अभिव्यक्ति दिन सक्छ भनेर हेरिरहँदा सबैभन्दा राम्रो उम्मेदवारी गठबन्धनकै तर्फबाट भएको छ भन्ने बुझाइ आमरूपमा बढ्दो छ । यही कारणले म जित्छु भन्ने लाग्छ ।

दोस्रो, गठबन्धनको म साझा उम्मेदवार हुँ । हामी एकढिक्का छौँ । अहिले नेपालको मिश्रित राजनीतिक प्रणालीले पनि कुनै न कुनै रूपमा गठबन्धन अनिवार्य छ । निर्वाचनअघि होस् या पछि गठबन्धनविना सरकार बन्ने अवस्था देखिँदैन । यहाँ प्रतिपक्ष पनि विभाजित छ । त्यसले पनि हाम्रो अनुकूलता बढ्दो छ ।

गठबन्धनको उम्मेदवार भए पनि कांग्रेसका भोट आउँदैन कि भन्ने आशंका गर्नेहरू पनि छन् । तपाईंको क्षेत्रमा के छ ? 

राम्रो सहकार्य र समन्वय भइरहेको छ । हिजोको दिनमा संविधानमा के लेख्ने, के नलेख्ने, शान्तिप्रक्रिया कसरी टुंग्याउने भन्नेमा वादविवाद थियो होला । तर, अहिले हामीसँग संविधान छ । संविधानमा हाम्रा मौलिक हकहरू छन् । जनताका आधारभूत आवश्यकताका कुरालाई उठाउनुपर्नेछ । कार्यान्वयन तहमा हामी गइरहँदा परिणाम निकाल्न पार्टीहरू एक ठाउँमा आउन अनिवार्य छ । अहिलेको समयले नयाँ राजनीतिक संस्कारको माग गरेको छ । हामी फरक–फरक पार्टीमा भए पनि एउटै मिसन बनाएर अगाडि बढ्न सक्नुपर्छ । यति गरिएन र विगतकै गल्ती हामीले दोहोर्‍यायौँ भने के युवा भन्ने ? नयाँ पुस्ताको प्रतिनिधि पात्र भएको हुनाले गठबन्धनका हामी सबै उम्मेदवार कांग्रेसबाट सविन तामाङ, एकीकृत समाजवादीबाट वसन्त मानन्धर हुनुहुन्छ । हाम्रो एउटै वेभलेन्थ छ । अब, आगामी दिनमा फरक–फरक पार्टीमा भए पनि मिलेरै काम गर्ने राजनीतिक संस्कारको विकास गरिरहेका छौँ । यसमा इमानदारीपूर्वक सबैले साथ दिनुहुनेछ र भोलिका दिनमा त अझ मत दिने–नदिने सबैको साझा प्रतिनिधिको रूपमा काम गर्ने प्रतिबद्धतासहित हामी अगाडि बढेका छौँ । यो अभियानमा गठबन्धनका साथीहरूले अनिवार्य रूपमा सहयोग गर्नु नै हुनेछ । त्यसबाहेक आमजनसमुदायले साथ दिँदै हुनुहुन्छ ।

तपाईं एउटा पार्टीको घोषणापत्र र अर्को पार्टीको चुनाव चिह्न लिएर गठबन्धनको उम्मेदवार बन्नुभएको छ ? यसले मतदातालाई कन्फ्युज बनायो होला नि ? 

हाम्रो घोषणापत्रमा जे लेखिएका छन् र गठबन्धनका अन्य राजनीतिक दलका घोषणापत्रलाई तुलना गर्नुभयो भयो भने आधारभूत रूपमा धेरै समानता छन् । ती समानता भनेकै भोलिका दिनमा सहकार्य गर्र्ने एउटा आधार हो । त्यसकारण हाम्रो पार्टीले ल्याएको घोषणापत्रबाट अरूले के सिक्ने र गठबन्धनभित्रकै अन्य पार्टीको घोषणापत्रबाट हामीले के सिक्ने भन्नेतर्फ जानुपर्छ । विपरीत दिशातर्फ गइरहेका दलहरूको गठबन्धन होइन योे । वाम–लोकतान्त्रिक गठबन्धनको एउटा मिसन बनेको छ– लोकतन्त्र र संविधानको रक्षा, सुशासन र समृद्धि । हामी साझा प्रतिबद्धतालाई नै केन्द्रमा राखेर भोलिका दिनमा काम गर्नेछौँ ।

चुनाव चिह्न त दुइटा पार्टीबीच हामीले गरेको समझदारीमा आधारित हो । कानुनी रूपमा निर्वाचन आयोगले नै प्रदान गरेको अधिकार पनि हो । त्यहीअनुरूप हामी अगाडि बढिरहेका छौँ । दक्षिण एसियामा चुनाव चिह्नकेन्द्रित राजनीति देखिन्छ । अरू, थुप्रै देशमा त चुनाव चिह्न पनि हुँदैन । त्यहाँ व्यक्तिलाई मत हालिन्छ, पार्टीलाई मत हालिन्छ ।

उपत्यकामा स्वतन्त्र र साना दलले पनि ठूला दलका उम्मेदवारलाई चुनौती दिएका छन्, तपाईं पनि त्यसको जोखिममा पर्नुभयो नि ?

अहिले जनतामा धेरै परिपक्वता आइरहेको छ । जनताले स्थानीय तहको भन्दा संसदीय निर्वाचन फरक खालको हो भन्ने बुझिसक्नुभएको छ । अहिलेको निर्वाचनले प्रतिनिधिसभा र प्रदेश सभामा सांसदहरू पठाउने हो । सांसदले गर्ने मुख्य भूमिका भनेको नीति निर्माण नै हो । भोलि सरकार बनेको खण्डमा कार्यान्वयन गर्ने तहमा पुग्ने हो । दलीय संरचनाभित्रकै बहुमतको आधारमा विधेयकहरू पारित हुनेहुन् । बहुमत नभई विधेयक पारित हुँदैन । बहुमत नभई सरकार गठन पनि हुँदैन । मतदाताले अहिले काम र परिणाम खोज्नुभएको छ । ती उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनसँग छन् ।नयाँ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया