काठमाडौंः नेपाल प्रहरीको विभिन्न डिजिटल सेवा आज दिउँसाे ३ बजेदेखि ६ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण अवरोध हुने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रहरीले उक्त जानकारी दिएको हो ।
यसअन्तर्गत नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली (ओपीसीआर सिस्टम), नेपाल प्रहरी मोबाइल एप, ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली लगायतका सेवा अवरुद्ध हुने बताइएको छ । त्यसपछि भने नियमित रूपमा नेपाल प्रहरीको डिजिटल सेवा प्रयोग गर्न सकिने छ ।
प्रकाशित गरेको उक्त सूचनामा लेखिएको छ, “मिति २०७९/०७/०४ गते दिउँसो तीन बजेदेखि छ बजेसम्म नियमित प्राविधिक मर्मत सम्भारका कारण नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली, नेपाल प्रहरी मोबाइल एप, ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणालीको प्रयोगमा अवरोध हुनसक्ने भएकाले सो अवधिमा यहाँहरुलाई पर्नसक्ने असुविधाका लागि क्षमाप्राथी छौँ ।”
नेपाल प्रहरीको वेबसाइटबाट विशेषगरी कुनै अपराधसँग सम्बन्धित समाचार, प्रहरीको काम कारबाहीको विवरण, सूचना तथा कार्यक्रम आदिको बारेमा जानकारी पाउन सकिन्छ । त्यस्तै प्रहरी चारित्रिक प्रमाणपत्र आवश्यक परेकाले नेपाल प्रहरीको अनलाइन सेवाबाट नै उक्त सुविधा लिनसक्छन् । साँझ ६ बजेपछि भने डिजिटल सिस्टमका सबै सेवा लिन सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया