काठमाण्डौंः बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् ।
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरे पनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।
सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार नौ सय ६७ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई रु दुई हजार चार सय चारमा बिक्री गरिरहेको डुडुवा कम्तीका किसान हरिराम यादव बताउनुभयो । रकर अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उहाँको भनाइ छ ।
खजुरा–३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउनुहुन्छ । सरकारले तोकेभन्दा प्रतिक्विन्टल रु पाँच सय कममा व्यापारीले धान खरिद गरिरहेको उहाँको भनाइ छ ।
नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल रु दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।
उक्त कम्पनीका नेपालगन्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताउनुभयो । धान खरिदका लागि छलफल चलिरहेको भन्दै उहाँले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताउनुभयो । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया