वैशाख ८, २०८१ शनिबार April 20, 2024

कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयार – आगामी शैक्षिक सत्रबाट लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कक्षा ५, ८ र १० का सबै पाठ्यपुस्तक तयार गरिएको छ । आगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले यी तीन वटा कक्षाका पाठ्यपुस्तक कार्यान्वयनमा आएपछि नयाँ पाठ्यपुस्तकको ‘चेन’ पूरा हुने बताउँदै भने, “यसको प्रिन्ट रेडी कपी (पिआरसी) पनि तयार भइसकेको छ । यो महिनाभित्र जनक शिक्षालाई उपलब्ध गराइसक्नेछौँ ।”

सो कक्षाका पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पिआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । कतिपय कक्षाका कतिपय विषयका पाठ्यपुस्तक अहिले पनि अभावको स्थिति छ । जनक शिक्षालाई स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको मतपत्र छाप्न व्यस्त बनाइदिएपछि उसले स्कुले पाठ्यपुस्तक छाप्न नसकेको हो । समयमा पाठ्यपुस्तक छाप्न नसकेर विद्यार्थीको हातमा नपुग्ने रोग नयाँ होइन ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ढुङ्गानाले यसबीचमा केही जिल्लाको अनुगमनमा गएको र शिक्षकहरूले पाठ्यक्रमले समयमा पिआरसी उपलब्ध नगराएकाले जनक शिक्षाले समयमा छाप्न नसकेको गलत हल्ला फिजाइएको आफूले पाएको सुनाए । “हामीले सधैँ समयमा नै पिआरसी जनक शिक्षालाई उपलब्ध गराउँदै आएका छौँ ।

हाम्रा कारण ढिला छपाइ भएको हुँदै होइन” उनले भने, “अहिले हामीले कक्षा ५, ८ र १० का पाठ्यपुस्तकका पिआरसी उपलब्ध गराउँदा जनक शिक्षासँग चार महिना पर्याप्त समय हुन्छ ।
समयमै छपाइ प्रक्रिया सुरु गरिदिए आगामी वर्ष पाठ्यपुस्तकको उपलब्धतामा समस्या हुन्थेन ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया