असार २७, २०८२ शुक्रबार July 11, 2025

संसद् सचिवालय शपथको गृह कार्यमा जुट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसक्नुभएको छ । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिनुभएको थियो । उहाँहरूले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिनुभएको थियो ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया