काठमाडौँ । शीर्ष नेताहरुले चर्को दबाब थेग्न नसकेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार दिउँसो ४ बजे केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।
आफूहरुसँग सल्लाह या छलफल नगरी संकटका बेला सरकारले एकलौटीरुपमा गम्भीर निर्णयहरु लिन थालेको भन्दै नेकापका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले चार दिन यता छिटोभन्दा छिटो केन्द्रीय सचिवालय बैठक डाक्न दबाब दिएपनि ओलीले त्यसलाई पन्छाउँदै आएका थिए।
तर केहीबेर अघि मात्रै नेकपाका महासचिव विष्णु पौडेलले मगंलबार चार बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएको जानकारी सचिवालय सदस्यहरुलाई गराएका छन्।
नेकपाका अध्यक्ष प्रचण्डसँगै सचिवालयका अधिकांश सदस्यहरुले कोभिड -१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरीदका बेला सरकार भ्रष्टाचार मुछिएको प्रकरण, नेपाली सेनलााई त्यस्ता सामग्री खरीदको जिम्मा दिने सरकारी निर्णय र श्रमजीवी वर्गहरुका लागि उचित राहत प्याकेज घोषणा नगरेकोलगायत विषयमा सरकारसँग स्पष्टीकरण माग गर्ने योजना बनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया