असार २७, २०८२ शुक्रबार July 11, 2025

कोरोनाको जोखिम नघट्दासम्म लकडाउन जारी रहनेः प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने स्पष्ट पारेका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् संवाद गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल अन्त्य हुने सम्भावना नरहेको र सीमामा अझ कडाई गरिने बताएका हुन ।

उनले जनतालाई दुख दिन नभई जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र सबैलाई बुझाउन आग्रह पनि गरेका छन।

मुख्यमन्त्रीहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिरहेको भए पनि जोखिम बढ्दै गएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा सरकारको निर्देशन पालना गर्नु र सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको स्पष्ट पारेका छन ।

प्रधानमन्त्री ओलीले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी र सफल रूपमा केन्द्रित रहेको बताउदै अहिले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पारेका छन ।
प्रधानमन्त्रीले संक्रमण रोकथामको प्रयास स्थानीय तह र प्रदेश सरकारबाट सकारात्मक रुपमा अघि बढेको तर यसलाई अझ समन्वयात्मक बनाएर अघि बढ्नु जरूरी रहेको बताएका छन । प्रधानमन्त्रीले अझ गम्भीरताका साथ कोरोनाविरुद्ध सक्रिय हुन मुख्यमन्त्रीहरुलाई निर्देशन पनि दिएका छन।

प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापारवाही हुन नहुनेमा जोड दिदै मेला लाग्ने, मान्छे भेला हुने आदि क्रियाकलाप गर्न रोक्ने दिशामा थप सजग हुन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन।

प्रधानमन्त्रीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा समेत विशेष प्रगति हासिल भईसक्ने विश्वास व्यक्त गरेका छन।

भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत रहनु अनिवार्य भएकोमा उनले जोड दिएका छन।

प्रधानमन्त्रीले स्वयंसेवी भावनाले काम गर्न र त्यसवापत कुनै लाभ नखोज्न स्वयंसेवीहरुलाई पनि आग्रह गरेका छन ।
त्यस क्रममा सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका विषयमा प्रदेश तहबाट भएका प्रयास र कार्यक्रमबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया