वैशाख १३, २०८१ बिहिबार April 25, 2024

हामी निर्वाचनबाट आफ्नो कमीकमजोरीहरूलाई सच्याएर अघि जाने क्रममा छौं । – रामकुमारी झाक्री (अन्तवार्ता)

'सरकारको स्थायित्वका लागि विश्वासको मत दिन सक्छौं'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंहरूको पार्टीको भर्खरै पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । त्यसमा निर्वाचनको विषयमा भएको समीक्षा के हो ?

चुनाव सकिएपछि मंसिरको अन्तिम साता स्थायी कमिटीको बैठक बसेको थियो । त्यसमा निर्वाचनको घटनाक्रमबारे समीक्षा गर्न आवश्यकता छ भनेर प्रश्नहरू उठे । त्यसपछि पुसको ५ गतेसम्म निर्वाचन क्षेत्रीय कमिटीहरू, जिल्ला कमिटी र प्रदेशबाट समीक्षा गरेर स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भन्ने योजना थियो । तर पुस ५ यता विभिन्न कारणले भएन, अध्यक्ष पनि त्यस समयमा बिरामी पर्नुभयो । १६ र १७ गते स्थायी कमिटी र १८ र १९ गते पोलिटब्यूरो बैठक सकियो । त्यसमा लिखित समीक्षा तल्लो कमिटीहरू आएपछि विस्तृत समीक्षा गरौँला भन्ने कुरा भएकाले त्यो एजेन्डा एक प्रकारको ड्रप नै गरिएको छ । बदलिँदो राष्ट्रिय परिस्थिति, पार्टीको आन्तरिक अवस्था, अन्य दलहरूको सम्बन्ध, गठबन्धन आदि इत्यादि बारेमा सघन रुपमा छलफल भयो । त्यसमा एउटा सांगठिनक कार्ययोजना पनि प्रस्तुत भयो । त्यसलाई अन्तिम रुपमा दिने र अन्तर पार्टी निर्देशन (अपानी) केन्द्रीय सचिवालयमा आगामी बैठकले गर्ने भन्ने निर्णय भएको छ ।

बैठकमा उठाउनुपर्ने विषयहरू सबैले उठाउनुभएको छ । चार दिनमा दुई तहको बैठक सकिएको छ । खासगरी पार्टीको आन्तरिक मामिलामा छलफल भयो र अहिलेको नयाँ राजनीतिक घटनाक्रम, चुनावबाट उदाएका नयाँ शक्तिहरूको स्पेसको सन्दर्भमा वामपन्थी दलबाट कसरी हेर्ने भन्ने विषयमा अलिकति विमर्श गर्‍यौं । यसमा हाम्रो पार्टी, त्यसको आकार हामीले चुनावमा प्राप्त गर्नुपर्ने सफलता वा हासिल गर्न नसकेको अवस्थाबारे केही छलफल भएको छ । बैठक उत्साहजनक ढंगले नै सम्पन्न भयो । यसमा पार्टी सम्मानित नेता झलनाथ खनालले अलिकति वैचारिक अवधारणा राख्नुभयो । यो चारै दिनको बैठकको सुरुमा र अन्तिममा एकदमै राम्रो वैचारिक धारणा राख्नुभएको थियो । अध्यक्षले पार्टीको विषयमा उठेका प्रश्नहरूलाई स्पष्ट पार्नुभएको थियो ।

चुनावमा परिणाम निकै कमजोर देखियो । राष्ट्रिय दलको मान्यता पनि प्राप्त गर्न सक्नुभएन ? यो विषयले पार्टीको आन्तरिक जीवनलाई कतिको प्रभावित गरिरहेको छ ?

चुनावमा हामीले आफ्नो शक्तिलाई जोगाउन सकेनौं । यो गठबन्धनबाट मुलत: सबैभन्दा बढी फाइदा कांग्रेसले लियो । एकीकृत समाजवादीको कमजोर प्रदर्शनको पछि एउटा मात्रै विषय जिम्मेवार छैन । हामी नेपाली समाजमा वामपन्थी धारले उठाउँदै आएका मुद्दाहरूलाई कसरी छाडिदयौं भन्ने विषय हो । खासगरी कुनै पनि दल वर्गमा आधारित हुन्छ । वर्गसंघर्ष बुझेको वा दर्शन र दार्शनिक धारणातर्फ नगईकन पार्टी निर्माण हुँदैन । वर्गअनुसारका हितहरू फरक-फरक छन् । हामीले कसैको हितार्थको कुरा गरेनौं । हितहरू फरक फरक छन् । समाजमा वर्ग छ भन्ने विषय हामीले मार्क्सवादीले मात्रै नभएर गैरमर्क्सवादीले स्वीकार गरेको कुरा हो । वर्ग हुन्छ त्यसभित्र इकाईहरू हुन्छन् भन्ने सबैले भन्ने गरेका छौं । वर्ग छ भन्ने कुरालाई मान्दछौं भने त्यसको हित पनि फरक फरक छ । कुनै पनि वर्गको बहुसंख्यकले आफ्नो प्रतिनिधि कसलाई ठान्छ ? भन्ने विषय पनि निर्वाचनको परीक्षणलाई निर्धारण गर्ने तत्व हो ।

हामीले वामपन्थीहरूले अहिलेसम्म उठाइरहेको बहुसंख्यक मुद्दाहरूमध्ये राष्ट्रियता एउटा विषय हो र एउटा संवेदना हो । प्रत्येक मानिसलाई समाउँछ । सबैभन्दा ठूलो विषय भनेको जनजीविका, सुशासन, पारदर्शिता जवाफदेहिताको विषय हो । जवाफदेहिदा र पारदर्शिताको विषय दक्षिणपन्थी दलले पनि गर्छ तर जनजीविका कुरा जुन वर्गलाई सम्झिएर उठाउनु पर्ने थियो त्यसलाई हामीले जब छाड्दै छाड्दै गयौं त्यसपछि वर्गको मत नपाउने कुरामा स्वभाविक हो । हामीले हाम्रो पार्टीलाई वर्गमा आधारित बनाएर लगेनौं त्यस प्रकारको विमर्श गरेनौं ।

पुस्ता र पुस्तान्तरणको विषय पनि आएको छ । त्यो त्यति धेरै मार्क्सवादी होइन भन्न पनि मिल्दैन हरेक वस्तुको एउटा ठाउँमा गएर ‘स्याचुरेसन’ हुन्छ त्यसले अझै बढी कभरेज गर्ने संभावना कम हुन्छ । त्यो वैज्ञानिक कुरा नै हो । हामी मुद्दाबाट अलग थलग भएनौं समुदायबाट पनि भयौं । समुदायका आकांक्षाहरूलाई नबुझ्ने पो भयौ कि ? हामीलाई भुईंका रहेका समुदायसँग वास्तविक रुपमा अन्तक्रिया पो गर्न छाड्यौ कि ? भन्ने विषय पनि महत्वपूर्ण कुरा हो । त्यसले गर्दा पुस्तान्तरणको विषयलाई यो मार्क्सवादी विषय होइन भनेर लगिदिने, जनजीविकाको विषयलाई यो वर्गीय कुरा होइन भनेर जाने, पेशागत र मर्यादाको विषयलाई पनि यो हाम्रो होइन । यो विषयलाई अरु कसैले स्टन्टको रुपको उठाएर लैजाने जब परिस्थिति बन्यो, मौका दिइराख्यौं ।

यो परिस्थितिबाट हामीले हिजै मुद्दा छाडेको कारणले यो विषय अनिवार्य थियो । एक वर्षअघि निर्माण भएको दलले कति सफलता प्राप्त गर्‍यौं वा असफल भयो भन्ने विषय भन्दा पनि हाम्रो समाजलाई कसरी गैर राजनीतिक गर्‍यौं एक प्रकारले भन्दा ‘सेन्टर टु लेफ्ट’ बाट हामी दायाँबायाँ भएका छैनौं कतै ? यो एकदमै ठूलो प्रश्न भने बनेर आएको छ । यो एकीकृत समाजवादीको मात्रै नभएर वामपन्थी आन्दोलनकोकै प्रश्न हो । २०७४ को चुनावमा ६२ प्रतिशत जनमत कम्युनिस्टहरूसँग थियो अहिले यो प्रतिशत घटेर आयो । अहिले जसपालाई समेत जोड्दा पनि वामपन्थीहरूले बहुमत पुग्न सक्दैन । हामीले किन यो मैदान गुमाइरहेका छौं ? अहिले भनेको हामीले हिजो जुन वर्गको कुरा गरेका थियौं त्यो वर्ग उत्थान भएर अर्को भईसक्यो र ? के पहुँचकै कुरा सकियो त ? भन्ने प्रश्न आइरहन्छ । त्यसले गर्दा यो निकै ठूलो विचारधाराको प्रश्न हो ।

 

अहिले समाजवादी मात्रै होइन समग्र वामपन्थीहरूले आफ्नो जनमत गुमाएका छन् । त्यसभत्रि हामीले पनि गुमायौं र हाम्रो नराम्रोसँग गुमायौं ।

राष्ट्रिय पार्टी बन्ने नसक्ने अवस्था अर्थात् ३ प्रतिशत पनि मत प्राप्त गर्न नसक्ने अवस्थाले पार्टीको अस्तित्वमै संकट पार्ने प्रकारको हो कि होइन ?

राष्ट्रिय पार्टी बन्नु र नबन्नुले ठूलो अर्थ राख्दैन, हाम्रो चार सीट थपिन्थ्यो जम्माजम्मी, राजनीतिक सन्देश भने ठूलो बन्दैछ । राष्ट्रिय हुँदा संसदभित्र केही दलीय सुविधा प्राप्त गर्ने हो । दलको नेता र सचेतकहरूले कार्यालय र कर्मचारीसहितको विषयमा सुविधा पाइन्थो । यो सुविधा हामीले नपाउने भयौं । शान्तिपूर्ण आन्दोलनसँगसँगै संसद्लाई हामीले संघर्षको प्रमुख थलो भनेका छौं, त्यसमा हामीसँग रहनु भएका १० जना सांसदहरूले जनताका वास्तविक मुद्दाहरूलाई मुखरित गरेर बोल्नु भयो भने राष्ट्रिय पार्टी हुनु र नहुनुले खासै अर्थ राख्दैन । केही नयाँ दलहरू गठन भएको केही समयमा राष्ट्रिय पार्टी भए तर समाजवादी चाहि किन भएन भन्ने विषयलाई धेरै तुलना गरेर हेरेको कारणले हो । नत्र राष्ट्रिय पार्टी हुनु वा नहुनुले भूमिकामा फरक नभए पनि मनोदशामा भने फरक पार्छ । आफूलाई आफ्नो अस्तित्व रक्षामा गयो कि भन्ने अवस्थामा पुर्‍याएको छ । नीतिगत वा राजनीतिक विषयमा खासै पर्दैन वा मुद्दा उठाउने विषयमा भने यसले फरक पर्दैन सन्देशको हिसाबले भने फरक पर्छ । अहिले भएन, भएको भए राम्रो हुन्थ्यो ।

पुस १० गते राजनीतिमा ठूलो उलटफेर भयो । केही घण्टाको अन्तरमा एउटा गठबन्धन टुटेर अर्को बन्यो । अब एकीकृत समाजवादी सत्तामा कि विपक्षमा ?

हामी सत्तारुढ गठबन्धनभित्र अहिलेसम्म छैनौं । निर्वाचन गएको गठबन्धन भत्किएको छ, यसकारण हाम्रो भूमिका बदलिंदो परिस्थितिमा के रहला भन्ने कुरा हाम्रा सांसदहरूले संसद्भित्र कस्तो भूमिका खेल्नु हुन्छ भन्नेले निर्धारण गर्छ । अहिलेसम्म हामी विपक्षमा छौं ।

सरकारमा जाने संभावना कति छ ?

राजनीति संभावनाको खेल हो तर आजको दिनमा सत्तामा जाने संभावना पनि खासै देख्दिन ।

पुस २६ गते सरकारले विश्वासको मत लिने जनाएको छ । दाहाललाई विश्वासको मत दिने संभावना छ कि छैन ?

संभवना आजको दिनमा गठबन्धनलाई विश्वासको मत लिन हाम्रो आवश्यकतै छैन । तर प्रधानमन्त्रीसँग संसद्मा आह्वान गर्ने विषय, दलसँग औपचारिक रुपमा छलफल गर्ने विषयले त्यसको वातावरण बन्न सक्छ । सरकारको साझा न्युनतम कार्यक्रम हेरेर पनि कम्तीमा २ वर्ष एउटा विश्वासका साथ सरकार चलोस भनेर स्थायित्वका लागि मत पनि दिन सक्छौं । तर आजको हिसाबले प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेला पनि भएको छैन माग्नु भएको पनि छैन ।

एकीकृत समाजवादीले औपचारिक र ठोस प्रस्तावको कुरा गरेको छ । औपचारिक भनेको गठबन्धन संलग्न हुन निम्तो दियो भन्ने भयो । यस ठोस प्रस्तावभित्र एकीकृत समाजवादीले कस्तो बाँडफाँट खोजेको हो ?

पोलिटब्यूरो बैठकमा मलाई ‘र्‍यापोटिङ’को जिम्मवारी थियो । कुनै कारणले एक दुई जनाको छुटेपनि अधिकांशको भनाइ सुनेको छु । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले औपचारिक र ठोस प्रस्ताव भन्दा पनि सरकारको न्युनतम साझा कार्यक्रम हेरौं र सरकारलाई त्यो कार्यक्रमको कार्यान्वयन गर्ने एउटा विश्वास दिलाउन अवस्था भयो भने संसदमा भाषण गरेर हामी समर्थन पनि गर्न त्यसका लागि सचिवालयले दललाई निर्णय गर्न विकल्प छ ।

 

अहिले हाम्रो संख्याले सरकारले बन्ने वा नबन्ने कुरामा निश्चित गर्न भएको भए, औपचारिक र ठोस दुवै प्रस्ताव आउने थियो । हाम्रो संख्या अहिलेको गठबन्धनलाई आवश्यक पनि छैन । त्यसैले ठोस प्रस्ताव माग्ने समय पनि भएको छैन । संसद् पहिले खुलोस त्यसपछि सरकारले विश्वासको मत लिन्छ । अनौपचारिक प्रस्ताव निश्चित रुपमा हुने नै भयो । प्रधानमन्त्रीले संसदबाटै विश्वासको मत दिनुहोस् भनेर आह्वान गर्ने हो त्यस्तो भएको कारणले चिठ्ठी छुट्टै लेख्ने परम्परा पनि हुँदैन । अनौपचारिक संवाद हुन्छ ।

चुनावमा एकीकृत समाजवादीले राम्रो प्रदर्शन गर्न सकेन त्यसपछि यो पार्टीका नेताहरूको फरक फरक कुराहरू पनि आएका छन् । विभिन्न पक्षसँग वार्ता र संवाद पनि चलाउन सुरु गरेको छ । पार्टी विभाजन भएपनि डेढ वर्षसम्म जसो तसो चलायौं अब यो पार्टी राम्रोसँग चल्न सक्दैन भन्ने निष्षर्कमा अधिकांश सदस्यहरू पुगेका हुन् ?

सामाज विज्ञानको विद्यार्थी हुँ । समाज विज्ञानले के भन्छ भने सामाजको वास्ताविकता के हो भने तपाईं, म प्रत्येक मानिसले के सोच्छन्, के क्रियाकलाप गर्छन्,के अन्तक्रिया गर्छन, त्यो समाजको तत्कालीन सामाजको वास्ताविकता हो । जस्तै व्यक्ति व्यक्ति मिलेर समाज बनेको हुन्छ ।

त्यसैगरी १ सय ७ जनाको पोलिटब्युरो सदस्यमा करिब ९० प्रतिशतले बोल्नु भएको थियो । पदाधिकारी र स्थायी कमिटीका सदस्यहरू रहेको कमिटीका बहुसंख्यक सदस्यले जो बोल्नुभयो एकीकृत समाजवादीको यथार्थ त्यही हो । बोल्ने कसैले पनि यो समाजवादी पार्टी चल्दैन बन्द गर्नुपर्छ भनेर कहिँ पनि कसैले पनि राखेनन् । उठेको विषय भनेको कार्यक्रमिक कमजोरी भयो , विचारमा केही अस्पष्टता भयो, केही कार्यशैलीमा त्रुटी भए, केही असावधानीपूर्वक काम गर्‍यौं । जसको कारणले हामीले आशातित पर्फर्मेन्स गर्न सकेनौं । जनविश्वास लिन सकेनौं । त्यसले यी कमिटीहरूलाई सुधार गर्नुपर्‍यो, त्यसकारण कमिटीहरूलाई व्यापक रुपमा पुनर्गठन गर्नुपर्‍यो, वडादेखि केन्द्रीय कमिटीसम्म व्यापक रुपमा पुनर्गठनमा जाऔं, पुनर्गठनअघि त्यसलाई सबै कमिटीलाई आध्यावधिक गरौं, गठन गरौं र पुनर्गठन गरौं गरेर जाऔं भन्ने रह्यो ।

विचारधाराको तहमा आजको समाज के हो र त्यसलाई हामी मार्क्सवादीहरूले कसरी बदल्ने, बदलेर के बनाउने भनेर हामीले के भनेका छौं ? वैचारिक प्रश्नमा हामी स्पष्ट हौं भन्ने भयो । हामीले भर्खरै जनवादी क्रान्ति सम्पन्न गरेका छौं भने समाजवादीमा संक्रमण गर्नका लागि यसका बाधाहरू के-के हुन् ? त्यो बाधा पन्छाउनका लागि हामीले हाम्रो संगठन र संघर्षलाई कस्तो बनाउँछौं ? समाजवादमा संक्रमण गर्ने सरकार र विपक्षीमा हुँदाका हाम्रा कार्यक्रमहरू के हुन् भन्ने विषयमा कार्यक्रमिक हिसाबले पनि स्पष्ट गरेर जानुपर्छ भन्ने विषय उठेको छ । वैशाखसम्म संगठनको गठन, पुनर्गठन र सुदृढीकरणको फेजको रुपमा यसलाई अघि लैजाने र सबै कमिटी प्रणालीलाई पुनर्गठन र पुनर्जागृत गर्ने भिन्ने विषय रहेको छ । यति धेरै अस्तित्व रक्षाको पनि लाग्दैन ।

एकताको विषयमा पनि आएको छ । एकताको विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको छ । एमाले, माओवादी केन्द्र र जसपासँग आएको थियो । एकता विषय कहाँ पुग्यो ?

एकता भन्ने विषयमा वामपन्थी दलमा जार्गन जस्तै हो । व्यापक वाम ध्रुविकरण गरौं एकता गरौं भन्ने विषय सबैले उठाउँछन् । ठूलो कम्युनिस्टदेखि साना सबैले भन्दै आएको विषय हो । एकता गर्ने भन्ने तर सबैभन्दा बढी विभाजित हुने र एकताको गफ गर्ने, कोटरी बनाएर बसिरहने रहने पनि परम्परा हो । पार्टी एकता, वामपन्थहरूबीचको एकताको विषय ठोस रुपमा कतै संवाद भएको विषय भने होइन । पार्टीहरूको एकता मात्रै नभएर वैचारिक र संगठनात्मक हिसाबले पुनर्गठनको विषयमा किन जाने भन्ने हो । यो आम रुपमा भनेको विषय हो । अहिले एउटा कुनै पार्टीसँग संवाद भएर एकता विषय अघि बढेको छैन । तत्काल त्यस्तो हुन छनक पनि देख्दिन, हामी निर्वाचनबाट आयो आफ्नो कमीहरूलाई सच्याएर अघि जाने क्रममा छौं । यो कमिटीहरूलाई कार्पेटमुनीको धुलो जस्तो राख्दै एकपछि अर्को सम्बन्धमा फड्को मारेको जस्तो गर्यौं‍ भने दुर्घटना बाहेक अरु केही छैन । पहिले आफू स्थिर हुनुपर्‍यो, त्यसपछि मात्रै बल्ल हामीसँग विचारधारात्मक रुपमा मिल्ने, रसायन र वर्ग चरित्रको हिसाब, आधारले मिल्ने हुनुपर्छ ।

 

कम्युनिष्ट पार्टीको साँच्चै व्यापक पुनर्गठन हो भने समाजवादी पार्टी मियो भएर एकीकृत समाजवादी हुन्छ कि त ? त्यो संभावना छ नि ! पहिलो आफु स्थिर हुनुपर्‍यो । त्यसैले आज दिनसम्म पार्टी एकताको सन्दर्भमा कसैको ठोस प्रस्ताव आएको छैन । संस्थागत हिसाबले तत्कालै बढी हाल्ला जस्तो पनि देख्दिन । त्यसले गर्दा साना सानो समूहहरू आएका छन् । त्यसले गर्दा यो प्रक्रिया पनि जारी छ । जारी प्रक्रियालाई निरन्तरता दिऔं । अरुलाई जोड्दै जाऔं । भोलि भविष्यमा राम्रो कम्युनिष्ट पार्टी बन्न सक्ने अवस्था आउँछ । विकल्प खुला नै राखेको हो । अहिले कसैसँग हुँदैन । गैर कम्युनिस्टसँग एकताभन्दा पनि कार्यगत एकता र मोर्चासम्म बन्न सक्छ । पार्टी एकता हुँदैन ।

माओवादीसँग एकताको च्याप्टर क्लोज भएको हो ?

म यो प्रक्रियामा नभएकाले त्यति थाहा भएन । पहिले सरकार त्यसपछि निर्वाचन लड्ने तयारीका लागि गुल्मी गएँ । त्यसैले यो पुरै प्रक्रियमा बाहिर भएकाले समाचारमा आएको विषय बाहेक जानकारी छैन । यो प्रक्रिया अघि बढेको भए कति बढ्यो र नभएको भए किन भएन भन्ने पनि जानकारी छैन ।

पुस १० मा नयाँ एमालेसहितको नयाँ सत्तासमीकरण बनेपछि सो दलसँग आजै भोलि एकता हुने जस्तो गरि चर्चा थियो । एमालेमै फर्किन लाग्नु भएको हो ?

यसमा दुई वटा विषयमा एउटा अनुमान हो र अर्को रणनीति पनि हुनसक्छ । चुनाव हारे पनि नयाँ गठबन्धनबाट हामी र कांग्रेस अलग्गिएपछि समाजवादी पार्टी स्थिर भएर अडिन्न त्यसैले यो ढिलो चाँडो एमाले नै हुन्छ भन्ने अनुमान भयो । एमालेबाट आएका कार्यकर्ता एमाले नै हुन्छन् भन्ने यो मनोवैज्ञानिक दबाब थियो त्यसले गर्दा एकता एकताको हल्ला गर्दैगर्दा तल्लो तहमा रहेका सबै साथीहरू एमालेमा फर्किने र माथि नेता मात्रै बाँकी रहने अवस्था सिर्जना गराउनका लागि यो रणनीतिक रुपमा हल्ला फैलाएको हुनुसक्छ । पछिल्लो बैठकपछि यो हल्लाहरू रोकिएका छन् ।

यसलाई रणनीति भन्दा पनि ट्रिकको हिसाबले लिएकाले गर्दा विश्वास गरेको देखिन्छ । धेरै मानिसले ७८ सिट एमाले, एकीकृत समाजवादीको १० र केही स्वतन्त्र मिलाउँदा ९१ स्थान हुन्छ । ९१ हुँदा सबैभन्दा ठूलो दल एमाले हुन्छ । एमाले ठूलो दल हुँदा अहिलेको यो सरकारले विश्वासको मत पाएन भने सबैभन्दा ठूलो दलको हैसियतले एमालेले सरकार बनाउने अवस्थामा पुग्छ केपी कमरेडले दुवैलाई पार्टीलाई हत्तपत्त मिलाउनु हुन्छ भनेर अनुमान गरेका थिए । यो भनेको हल्लामा मात्रै हो कुनै सत्यता छैन ।

 

सबै हिसाबले तयार नभएसम्म व्यक्तिगत सम्बन्धमा फड्को मारेको जस्तो वा पार्टी पनि एउटा प्रयोग गरौं, एउटा चुनावमा भाग लियौं, आशातित सफलता प्राप्त गर्नसकेनौं । अनि अर्को गरेर यसरी हामफाल्दै जाने हो भने यो काम लाग्दैन । अहिले शर्तनामासहितको एकताभन्दा पहिलो एकीकृत समाजवादी चाहिन्छ भन्ने बनाउनु पर्‍यो । एमाले वा कोही पार्टीका लागि यो समाजवादी पार्टी भन्ने तत्व चाहिन्छ भन्नका लागि यो पार्टी स्थिर हुनुपर्छ ।

जसले शक्ति बराबरी नभएपनि पनि कुनैलाई राजनीतिक, विचारधात्मक, संगठनात्मक केही न केही रुपमा यो जरुरी तत्व हो भन्ने भएपछि एकता हुन्छ । चुनाव हामीले गुमायौै , सबैले गुमायौं, वामपन्थीहरूले गुमायौं भने अर्को चुनाव आउन ५ वर्ष छ । यो गुमाएको बीचमा एकले अर्कोको आवश्यकताबोध कति गरेका छौं त ? यो सबै मिलाइसकेको भए हामीले कुनै चीज दिने थियौं भन्ने हामीले कति बोध गर्‍यौं ? त्यसको आधारमा एकताको कुरा हुने हो । अहिले यो औपचारिक रुपमा कुनै कुरा पनि अघि बढेको छैन र हतार गर्नुपनि हुँदैन ।

२०५६ सालको चुनावपछि तत्कालीन नेकपा मालेका महासचिवसहितको नेताहरू एमालेका फर्किएका थिए । अहिले एकीकृत समाजवादीको अवस्था त्यस्तै होइन ?

संसदीय संघर्षलाई प्रमुख थलो ठानेको समयमा मालेले एक स्थान पनि जितेन । कार्यकर्ता टिकेनन् । एकातर्फ एमाले संसदीय संघर्षको आक्रमक रुपमा थियो भने माओवादी सशस्त्र संघर्षको मोर्चामा थियो । बन्दुकको नालबाट राज्य सत्ता निस्कन्छ भनाइमा विश्वास गर्नेहरू माओवादीतर्फ लागे शान्तिपूर्ण संघर्षबाट राज्य सत्तामा पुगेर प्रगतिशील सुधारका कार्यक्रम गर्ने विषयलाई लिएर एमाले अघि बढेको थियो । यो दुवैको बीचबाट मालेलाई बाँच्नका लागि गाह्रो भयो । वैचारिक रुपमा मालेलाई सर्भाइभ हुन गाह्रो काम थियो । संसदीय संघर्षमा जाँदा शून्य स्थान र सशस्त्र संघर्षमा जानेसक्ने अवस्था थियो । अहिले एकीकृत समाजवादी संसदीय मोर्चामा १० स्थान छ । कुरा उठाउने हो भने राम्रो संख्या हो । अहिले यति धेरै दलहरू रहेका छन् । पहिलो आर्थिक समाजिक अवस्था, कम्युनिस्ट आन्दोलनमा गइरहेको बाटो, त्यसबाट विकसित भएको सामाजिक अवस्था र वास्तविकतामा फरक छ । १० सीटको कम्युनिस्ट पार्टीले संसदीय संघर्षलाई प्रमुख थलो मानेर प्रगतिशील सुधारको माध्यमबाट जनमत निर्माण गर्ने र राज्यको उपरी संरचनामा रहेको दलाल पुँजीवादीहरूको कित्ताबाट कम्तीमा राष्ट्रिय पुँजी निर्माणको बाटोमा लैजानका लागि भूमिका खल्नेसक्ने अवस्था छ । समाजवादतर्फ जान्छौं भनेर त्यो विचार बोकेर आएको पार्टीले र स्पेसलाई बढाउन सक्छ । तर यसका लागि हाम्रो नेतृत्वले चाहाना हुनुपर्छ । विचारधारा कामलाई पहिलो प्राथमिकतामा राखेर संगठनात्मक काम अघि बढाउनु पर्छ ।

अहिलेको नेतृत्वमा त्यो गुणहरू छन् ?

बनाउँदै लैजाने हो । कोसिस गर्ने हो ।

अहिलेको नेतृत्व पहिलो देखि नै टेष्ट भइसकेको नेतृत्व हो । अझै यसबाट अपेक्षा छ ?

मैले पार्टी बनाउने क्रममा भनेको थिएँ समाजमा एक प्रकारको उकुसमुकुस छ । त्यो कहिँ न कहिँ गएर मुखारित हुन्छ, त्यसका लागि विद्रोह गरेर आएको समाजवादी पार्टी सही ठाउँ हुनसक्छ । त्यसले समाजको उकुसमुकुसबाट आएका युवाहरूका लागि सबै झ्यालहरू खुला राख्नुपर्छ । जसले गर्दा त्यो जनमत हामीसँग हुन्छ । जनसंख्याको संरचना हेर्दा पनि बहुसंख्यक युवा भएको देश हो । त्यो चलायमान युवालाई सहज प्रवेशको मौका दिनुपर्छ जसले गर्दा एउटा परिस्थिति निर्माण हुन्छ भनेर नेतृत्वलाई अलि लचक, नेतृत्वलाई ४० वर्षभन्दा कम उमेरका ४० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा लैजाउ भन्ने थियो । जनसंगठनहरू पुनर्गठन गरौं, अनेरास्ववियूलाई विश्वविद्यालय र समुदायमा आधारित बनाऔं, राष्ट्रसंघ र युवा परिषद्ले परिभाषित गरेको भन्दा बढी भैसकेको युवा संघको नेतृत्वलाई विदा दिऔं भन्ने र समुदायमा आधारित बनाऔं भनेर भनेको हो ।

हाम्रोमा पाँचौ महाधिवेशनदेखिका केन्द्रीय सदस्य रहेका छन् । जसले गर्दा नयाँ भाइब्रेसन नै सिर्जना भएन । जसले गर्दा नयाँ मानिसले हाम्रो पार्टीमा ढोका नै खुला देखेनन् सिडिकेन्ट जस्तो देखियो । विद्यार्थी, युवा र महिलासहितको जनसंगठन परिचालन गर्न सकेनौं । जसले गर्दा हामीले मिस गर्‍यौं । समाजमा विद्रोह रहेको र हामी पनि विद्रोहबाट आएको त्यत्रो ठूलो जनमत थियो त्यसलाई ढ्याक्कै ढोका खोलिदिएको भए मानिस यहाँ आउँथे थिए । संगठनात्मक रुपमा हामीले ठूलो गल्ती गर्‍यौं ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया