असार ३२, २०८२ बुधबार July 16, 2025

विद्यालय नआउने प्रधानाध्यापकको पद चैट

वर्षमा नौ महिना विद्यालय खुल्दा प्रअ चौधरी जम्मा ४३ दिन मात्रै हाजिर भएर तलम झ्वाम पारेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ ।

विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेव चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो । नियमित तलव सुविधा लिने तर प्रधानाध्यापक नै पठनपाठनमा संलग्न नहुने र बिदामा बसेपछि लामो समय विद्यालयको सम्पर्कमा नरहने गरेकाले चौधरीलाई जिम्मेवारीबाट हटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

नियमित विद्यालयमा उपस्थित हुन र पठनपाठन प्रभावित नबनाउन विव्यसले पटक–पटक सचेत गराए पनि अटेर गरेकाले उहाँलाई बाध्य भएर प्रअबाट हटाउनुपरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

यस अघि विद्यालयमा लामो समय अनुपस्थित हुनुभएका प्रधानाध्यापक चौधरीको तलब रोक्का गर्न गाउँपालिकामा चार पटक निवेदन दिइएको भए पनि उहाँले मिलाएर तलब लिनुभएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

स्थानीय तहको सहमतिमा विद्यालय व्यवस्थापन समितिको निर्णयले अर्कै प्रधानाध्यापक नियुक्ति गर्ने गरी उहाँलाई प्रअ पदबाट हटाइएको हो । विद्यालयको तथ्याङ्कअनुसार वर्षमा नौ महिना विद्यालय खुल्दा प्रअ चौधरी जम्मा ४३ दिन मात्रै हाजिर हुनुभएको छ ।

प्रअ चौधरी अनियमित हुनुभएपछि विद्यालयको आन्तरिक स्रोतबाटै तलब खुवाउने गरी अर्को शिक्षक राखेर पठनपाठन गराइएको थियो । जिल्लाको दुर्गम र शेर्पा समुदायको बाहुल्य रहेको पात्लेमा विद्यालय नगई तलब लिन पाउने भएपछि चौधरी २० वर्षदेखि उक्त विद्यालयमा रहनुभएको स्थानीयको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया