वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

‘पुनर्जीवन’ दिँदै मेथिन्कोट अस्पताल

जनशक्ति र सेवा पर्याप्त, पूर्वाधारको संकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमबार अथार्त २०७९ माघ ९ गते दिउसो १ बजे मेथिन्कोट अस्पतालमा नमोबद्ध नगरपालिका घर भएका ४८ वर्षीय एक पुरुष देब्रे तर्फको कोखा र टाउको दुखेर अस्पताल आपतकालिन उपचारका लागि भर्ना हुनु भयो । बिहान ११ बजे देखि असहज भए पछि उहाँलाई दुई घण्टा पछि मात्रै अस्पताल ल्याइएको थियो । अस्पताल नजिकै भए पनि केही समय पर्ख र हेरको अवस्थामा आफन्तले उहाँलाई अस्पताल ल्याउन आलटाल गरिरहेका थिए । कोखा दुख्ने र टाउको दुख्ने क्रम नरोकिए पछि उहाँ मेथिन्कोट अस्पतालमा भर्ना हुनु भयो ।

अस्पतालका आपतकालिन उपचार सेवाका मेडिकल अधिकृत डा. उमङ्ग शर्माको टोलीले तत्काल उहाँको परीक्षण गर्‍यो । ई सिजी लगायतको परीक्षण गरेर राजधानीमा रहेको गंगालाल अस्पतालमा रिपोर्ट पठायो । २ बजे तिर पुष्टि भयो उहाँलाई ह्दयघात भएको छ । गंगालाल अस्पतालका मुटु रोग विशेषज्ञहरूले तत्काल उहाँलाई अन्य केही औषधीका साथै ‘इन्जेक्सन टेनेक्टिप्लेज’ दिन अनुरोध गर्‍यो । ह्दयघातबाट बचाउन उक्त इन्जेक्सन महत्त्वपूर्ण मानिन्छ ।

उक्त इन्जेक्सनको प्रयोगले ह्दयघात भएका बिरामीलाई तत्काल अप्रेसन गर्नु पर्ने भए पनि केही घण्टाका लागि सहज बनाउँछ । तत्काल मृत्युको मुखबाट जोगाउन इन्जेक्सन वरदान साबित हुने गर्दछ । गंगालाल अस्पतालले मेथिन्कोट अस्पताललाई उक्त इन्जेक्सन निःशुल्क व्यवस्था गरेको छ । ह्दयघातका बिरामीहरूका लागि मेथिन्कोट अस्पतालले निःशुल्क रुपमा उक्त औषधी सहितको सुविधा प्रदान गरेको छ । अन्य अस्पताल तथा खुल्ला खरिद गर्दा उक्त इन्जेक्सनलाई ५० हजार रुपैयाँ भन्दा धेरै मूल्य पर्दछ ।

‘ह्दयघात भएका बिरामीहरूलाई मात्रै नभई अन्य रोगको उपचारका लागि मेथिन्कोट अस्पताल दोस्रो जीवन अथार्त पुनर्जीवन बन्न थालेको छ’–अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईले भन्नुभयो–‘ह्दयघात भएका बिरामीलाई चार घण्टा भित्र उक्त इन्जेक्सन दिएर गंगालाल रिफर गर्न पाउँदा बिरामीको ज्यान बचाउन सकिन्छ ।’ सरकारले दिएको निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत उक्त कार्यक्रम मेथिन्कोट अस्पतालले प्रयोगमा ल्याएको छ ।

गंगालाल अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन भए पछि बिरामीको ज्यान बचाउन प्रभावकारी भएको मेडिकल अधिकृत डा. उमङ्ग शर्माले बताउनु भयो । व्यस्त सडक, तत्काल अस्पताल पुर्‍याउन असहज तथा बिरामीहरूलाई ह्दयघात भएको जानकारी समयमै पाउने भएकाले मेथिन्कोट अस्पतालको उक्त सेवाले नागरिकहरूले पुनर्जीवन प्राप्त गरेको डा. सेढाईले बताउनु भयो । गंगालाल अस्पतालले अप्रेसन गर्नु परेको अवस्थामा पनि डेढ लाख रुपैयाँसम्म निःशुल्क हुनेछ ।

मेथिन्कोट अस्पतालले सुरु गरेको उक्त सेवाले नमोबद्ध, तेमाल, रोशी, महाभारत, पाँचखाल मात्रै नभई रामेछाप, सिन्धुली, दोलखा तथा बिपी राजमार्ग हुँदै यात्रा गर्ने धेरै बिरामीहरूका लागि महत्त्वपूर्ण हुने नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाले बताउनु भयो । मेथिन्कोट अस्पताललाई बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/२०७८ को बजेटबाट जिल्ला स्तरीय अस्पतालको रुपमा विस्तार गर्ने निर्णय गरे पछि सेवा सुविधा र जनशक्ति ब्यस्थापन गरिरहेको छ । अहिले पूर्वाधारका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनु भयो ।

पर्याप्त सेवा, दक्ष जनशक्ति

मेथिन्कोट अस्पतालमा पर्याप्त सेवा विस्तार भएको छ । अस्पताल प्रमुख डा. पुरुषोत्तम सेढाईले मेथिन्कोट अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सुरु गरिएको बताउनु भयो । अस्पतालले आकस्मिक सेवा अन्तर्गत प्रयोगशाला, एक्स रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा सुरु गरिएको छ । ५० शय्या अस्पताल संचालनको अनुमति पाएको अस्पतालले पूर्वाधार अभावका कारण तत्काल ३३ बेड संचालनमा ल्याएको छ ।

गंगालाल अस्पतालको सहकार्यमा ह्दयघात, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवा लगायत आइसियु, भेन्टिलेटर र अन्य सेवा सञ्चालन गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा केही दिन पछि ५ शय्याको डाईलोसिस सेवा संचालनमा आउने छ । सामान्य चिरफार देखि ठुलो अप्रेसन पनि सुरु गर्ने गरी तयारी गरिएको छ । भिडियो एक्स रे, स्वास्थ्य बिमा कार्यक्रम, रेबिज विरुद्धको खोप, महामारी नियन्त्रण, एचआइभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रण कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

एसएनसियु, समुदायमा आधारित नवजात शिशु र बाल रोगको एकिकृत व्यवस्थापन, पोषण कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, हाडजोर्नी तथा नसा रोग, प्रयोगशाला लगायतको सेवा नियमित उपलब्ध गरिएको डा. सेढाईले बताउनु भयो । अस्पतालमा ६३ जना जनशक्ति कार्यरत छन् । चार जना विशेषज्ञ डाक्टर सहितको जनशक्ति रहेको अस्पतालमा नर्सिङ्ग अधिकृत, मेडिकल अधिकृत, डेन्टल लगायतका जनशक्ति कार्यरत छ ।

२०५४ सालमा साविक मेथिन्कोट गाविस रहँदा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको उक्त संस्था २०६६ सालमा १५ शय्याको अस्पतालको रुपमा विस्तार गरिएको थियो । संघीयताको कार्यान्वयनसँगै उक्त अस्पताललाई नगर अस्पतालको रुपमा परिणत गरिएको थियो ।

प्रदेश सरकारले जिल्ला अस्पतालको रुपमा विस्तार गर्ने निर्णय गरेसँगै अस्पतालमा सेवा र जनशक्ति थप गरिएको हो । ‘एक सय शय्याको अस्पताल निर्माणका लागि २७ रोपनी सार्वजनिक जग्गा सिफारिस गरी डिपिआर तयार गरिएको छ’–अस्पतालका प्रमुख डा. पुरुषोत्तम सेढाईले भन्नुभयो–‘चालु वर्ष भित्रै भवन निर्माण गर्ने गरी ३ करोड विनियोजन भइसकेको छ । अस्पतालका लागि एम्बुलेन्स लगायतका अन्य आवश्यक सामाग्रीहरु व्यवस्थापन गरिँदै छ ।’ अस्पतालले बिरामीहरूका लागि निःशुल्क खाना र खाजाको समेत व्यवस्था गरिरहेको छ । सुत्केरी महिलालाई मासु र भातका अलावा ज्वानोको रस समेत उपलब्ध गराइन्छ ।

अस्पतालको सेवा र गुणस्तरको अवस्था तथा थप सेवा विस्तारका लागि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले अस्पताललाई नमुना बनाउने गरी विस्तार गर्न र नागरिकहरुको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनु भयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम तत्काल सञ्चालन गरी सेवा प्रभावकारी बनाउन सचिव खड्काले निर्देशन दिनु भएको थियो । सोही अवसरमा नगर प्रमुख कुन्साङ लामा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंह, वडा अध्यक्ष अर्जुनबहादुर कार्की, अस्पतालका संस्थापक अध्यक्ष उद्धव काफ्ले, अध्यक्ष कृष्णप्रसाद खनाल, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज कति छ विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख १४, शुक्रबार
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार