काठमाण्डौः कोरोना भाइरस सङ्क्रमित इलामकी ३९ वर्षीया एक महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।
उनको भर्ना भएको दुई घण्टाभित्रै मंगलबार बिहान मृत्यु भएको नोबेल अस्पतालका सूचना अधिकारी नवीन दाहालले जानकारी दिए । ती महिलालाई बिर्ता सिटी अस्पतालमा गरिएको प्रारम्भिक एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गम्भीर अवस्थामा नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियाे ।
सूचना अधिकारी दाहालका अनुसार उनलाई श्वासप्रश्वासमा निकै समस्या थियो र अस्पताल पुर्याउँदा सीपीआर समेत दिनुपरेको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दो देखिएको छ । पछिल्लो सात दिनमा मात्रै देशभर २५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । सन् २०२५ को सुरुदेखि हालसम्म कुल सङ्क्रमितको सङ्ख्या १८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमणको हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । पछिल्लो एक हप्तामा भेटिएका २५ सङ्क्रमितमध्ये १८ जना बागमतीका रहेका छन् ।
अन्य प्रदेशको अवस्था :
सुदूरपश्चिम – पछिल्लो हप्ता ४ नयाँ केससहित कुल २१ जना सङ्क्रमित ।
कोशी – पछिल्लो हप्ता २ नयाँ केससहित कुल ५ जना सङ्क्रमित ।
लुम्बिनी – पछिल्लो हप्ता १ नयाँ केससहित कुल ४ जना सङ्क्रमित ।
मधेश – कुल ५ जना सङ्क्रमित, पछिल्लो १ हप्तामा नयाँ सङ्क्रमित छैनन् ।
गण्डकी – ८८ कुल ३ जना सङ्क्रमित, पछिल्लो १ हप्तामा नयाँ सङ्क्रमित छैनन् ।
कर्णाली – सन् २०२५ को सुरुदेखि हालसम्म कुनै पनि कोरोना सङ्क्रमण पुष्टि भएको छैन।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा पहिलो पटक सन् २०२० को जनवरीमा चीनबाट फर्किएका एक विद्यार्थीमा पुष्टि भएको थियो । त्यसको केही महिनापछि यसले भयावह रूप लिएको थियो । हालसम्म कोरोनाका कारण नेपालमा १२ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच कोनोनाबाट एक महिलाको मृत्यु भएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीका अनुसार नेपालमा पहिले ल्याइएका खोपहरू पर्याप्त मात्रामा स्टकमा रहेका छन् र छिट्टै खोप लगाउने प्रोटोकल तयार हुँदैछ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले मन्त्रालयसँग करिब ७ लाख डोज खोप स्टकमा रहेको जानकारी दिए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको रिपोर्टमा कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, सामाजिक दूरी र स्वास्थ्य निगरानीका उपायहरू कडाइका साथ पालना गर्न सुझाव दिइएको छ ।
महाशाखाले बारम्बार साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुन, ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख टिस्यू वा कुहिनोले छोप्न र अनुहारको आँखा, नाक र मुखमा हात नलगाउन सल्लाह दिएको छ।
यदि कसैमा ज्वरो, खोकी वा श्वासप्रश्वासमा कठिनाइजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया