मंग्सिर २, २०८३ बुधबार November 18, 2026

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि छ जनाको दरबन्दी रहे पनि हाल छात्रवृत्ति करारका एक जना विशेषज्ञ चिकित्सक मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिन्धुपाल्चोक, २ मङ्सिरः चौतारा प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह प्रभावित भएको छ ।

उक्त अस्पताल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा चौतारामा रहेको छ । ५० शैयामा स्तरोन्नति भएको अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरे पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षाअनुसार सेवा दिन चुनौती थपिएको हो ।

अस्पतालमा आधुनिक भवन र उपचारका आवश्यक उपकरण भने पर्याप्त मात्रमा  उपलब्ध छ । सिजेरियन, एपेन्डिक्स, हाडजोर्नीसम्बन्धी शल्यक्रियादेखि डायलाइसिससम्मका सेवा सञ्चालनमा छन् । दैनिक तीनभन्दा बढी शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । तर, उक्त सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ ।

चौतारा अस्पतालमा उपचाररत मनकुमारी खत्री ढाडको नसासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । उहाँलाई बस्न र उठ्नसमेत कठिनाइ छ । आवश्यक परीक्षण र विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध नहुँदा थप उपचारका लागि राजधानी जानुपर्ने हो कि भन्ने चिन्ता उहाँमा छ ।

अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुनु र चिकित्सक फेरिइरहँदा पटक–पटक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । तर, विशेषज्ञ चिकित्सकको निरन्तरता नहुँदा उपलब्ध सेवासमेत नियमित सञ्चालन गर्न समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि छ जनाको दरबन्दी रहे पनि हाल छात्रवृत्ति करारका एक जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् । करारमा नियुक्त चिकित्सकले एक वर्षको अवधि पूरा गरेपछि अस्पताल छाड्ने गरेका छन् । नयाँ नियुक्तिका लागि विज्ञापन गर्दा समेत चिकित्सकको आवेदन नपर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले बताउनुभयो ।

उहाँका अनुसार सेवा क्षेत्रभित्रका स्थानीय तहले विशेषज्ञ चिकित्सकका लागि आर्थिक सहयोग वा अनुदानको व्यवस्था गर्न सके जिल्लामै विशेषज्ञ सेवा नियमित बनाउन सहज हुनेछ । गत असारमा हाडजोर्नी विशेषज्ञको सरुवापछि तीन महिनासम्म उक्त सेवा अवरुद्ध भएको थियो । बालरोग विशेषज्ञका लागि समेत आवेदन नपरेको अस्पतालको भनाई छ ।

चिकित्सकलाई आकर्षित गर्न पर्याप्त आवासीय सुविधा र अतिरिक्त आर्थिक प्रोत्साहनको व्यवस्था नहुँदा जिल्लामा विशेषज्ञ चिकित्सक टिकाउन कठिन भइरहेको अस्पताल व्यवस्थापन समितिको निष्कर्ष छ । सरकारी तलब सुविधाले मात्रै विशेषज्ञ चिकित्सकलाई जिल्लामा आकर्षित गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विवेक भण्डारीले बताउनुभयो ।

जुगल, बलेफी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिक उपचारका लागि चौतारा अस्पताल आउने गरेका छन् । त्यसैले अस्पतालको सेवा प्रभावकारी बनाउन स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको व्यवस्थापन समितिको भनाई छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार