मंग्सिर २, २०८३ बुधबार November 18, 2026

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह

सङ्घीय सरकार र डा गोविन्द केसीबीच भएको सम्झौताका कारण शैक्षिक कार्यक्रम सञ्चालन हुँदैन कि भन्ने आशङ्का बढेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, २ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नभएको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको अगुवाईमा कैलालीको अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सवको आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका नागरिकको चाहना, सङ्घर्ष र लामो प्रयासपछि विश्वविद्यालय स्थापना भएकाले चिकित्सा शिक्षा अध्ययन सुरु गर्न कुनै बहाना नगर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री भट्टले सङ्घीय सरकार र डा गोविन्द केसीबीच भएको सम्झौताका कारण शैक्षिक कार्यक्रम सञ्चालन हुँदैन कि भन्ने आशङ्का बढेको उल्लेख गर्दै सरकारले त्यो आशङ्का मेट्नुपर्ने धारणा राख्नुभयो । “यो विश्वविद्यालय सुदूरपश्चिमका जनताको लामो सङ्घर्ष र प्रतिक्षापछि स्थापना भएको हो । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा आफ्नै घरआगनमा प्राप्त गर्ने त्यो जनचाहनालाई सम्बोधन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापना गर्ने गरी सरकारले यस क्षेत्रको विकासमा काम गरिरहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको भौगोलिक अवस्था र पहाडी क्षेत्रको स्वास्थ्य सेवामा पहुँचसम्बन्धी समस्यालाई ध्यानमा राख्दै बैतडीको खोडपे, बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री भट्टले नसर्ने रोग, मानसिक स्वास्थ्यलगायत स्वास्थ्य क्षेत्रमा चुनौती बढिरहेकाले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र स्वास्थ्य महोत्सवले त्यस कार्यमा टेवा पुग्ने भन्दै प्रशंसा गर्नुभयो ।

महोत्सवमा स्वास्थ्य परामर्शदेखि स्वास्थ्य परीक्षण

स्वस्थ जीवनशैली, स्वास्थ्य सचेतना अभिवृद्धि तथा रोगको समयमै पहिचान गर्ने उद्देश्यले कैलालीको गोदावरीमा पाँचदिने ‘स्वास्थ्य युवा महोत्सव–२०८३’ आयोजना गरिएको हो । महोत्सव यही मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ ।

‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष संवाद, परामर्श तथा स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले जानकारी दिनुभयो ।

पछिल्लो समय किशोरकिशोरीदेखि वयस्क तथा ज्येष्ठ नागरिकसम्म नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या र अस्वस्थ जीवनशैलीका कारण उत्पन्न स्वास्थ्य चुनौती बढ्दै गएकाले समुदायस्तरमै स्वास्थ्यसम्बन्धी सही जानकारी र परामर्श पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कुलत तथा दुव्र्यसन नियन्त्रण, महिला तथा किशोरी स्वास्थ्य, पोषण, खानपान र स्वस्थ जीवनशैलीलगायत विषयमा विशेषज्ञ चिकित्सकसँग अन्तरक्रिया गरिनेछ । वरिष्ठ मनोचिकित्सक, मनोपरामर्शदाता, क्लिनिकल साइकोलोजिस्ट, जनस्वास्थ्य विशेषज्ञ तथा बाल तथा किशोर मानसिक स्वास्थ्य विशेषज्ञले परामर्श दिने कार्यक्रम रहेका छन् ।

यस्तै, किशोरी तथा महिलाको प्रजनन स्वास्थ्य, महिनावारीमा हुने समस्या, हर्मोनको गडबडी, थाइराइड, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसीओएस), गर्भावस्था तथा रजोनिवृत्तिसम्बन्धी विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, इन्डोक्राइनोलोजिस्ट र मनोपरामर्शदातासँग छलफल गरिने जनाइएको छ ।

उमेर समूहअनुसार स्वास्थ्य समस्याको पहिचान र समाधानबारे समेत छुट्टाछुट्टै परामर्श दिइने आयोजकको तयारी छ । किशोरकिशोरीमा हुने शारीरिक विकास, महिनावारी, रक्तअल्पताबारे जानकारी दिनुका साथै अन्य समूहका महिलालाई प्रजनन स्वास्थ्य, महिनावारीको गडबडी, थाइराइड तथा तनाव व्यवस्थापन र गर्भावस्था, हर्मोनसम्बन्धी समस्या तथा रजोनिवृत्तिलगायत स्वास्थ्य परिवर्तनबारे परामर्श दिइनेछ ।

महोत्सवमा पोषणविद्, मेडिसिन विशेषज्ञ, पेट तथा पाचन रोग विशेषज्ञ र जनस्वास्थ्य विशेषज्ञबाट सन्तुलित आहार, कुपोषण, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोग तथा पाचन प्रणालीसम्बन्धी समस्या र तिनको रोकथामबारे सचेतना दिइने कार्यक्रम रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

यसका अतिरिक्त आँखाको परीक्षण तथा परामर्श, दन्त परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी–डीएनए तथा भिआइए विधिबाट परीक्षणका लागि नमुना सङ्कलन, योगसम्बन्धी परामर्श र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शको व्यवस्था गरिने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार