कास्की, २८ कात्तिकः माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् ।
तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस तथा अल्लोबाट हस्तकलाका सामग्री उत्पादन, होमस्टे सञ्चालन, कृषि पर्यटन र लघु जलविद्युत् आयोजना सञ्चालनलगायतका सम्भावना पहिचान गरेका हुन् ।
माछापुच्छ्रे र मर्दी हिमालको काखमा रहेको लुम्रेमा आयोजित कार्यक्रममा विद्यार्थीले गाउँमै सीप सिक्ने अवसर र उद्यम सञ्चालनका लागि आवश्यक सहयोगको मागसमेत गरेका थिए ।
तारेबराह आधारभूत विद्यालयकी पूर्वविद्यार्थी सुगन श्रेष्ठले सामान्य कम्प्युटर सीप सिक्न पनि पोखरा पुग्नुपर्ने र रु १२ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै गाउँमै कम्प्युटर तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिई गाउँमै सिक्ने, काम गर्ने र उद्यमी बन्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
तारेबराहसहित गौरीशङ्कर मनिलाल माध्यमिक विद्यालय, निष्पक्ष माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयका ३७ विद्यार्थी सहभागी कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गर्नुभएको थियो ।
विद्यार्थीले गाउँमा उत्पादन हुने कोदो, धान, चिया, अलैँची, भाँगो र महको प्याकेजिङ तथा ब्रान्डिङ गरी बजारमा पुर्याउन सकिने सम्भावनाबारे पनि धारणा राखेका थिए। स्थानीय संस्कृति र खानपानलाई समेटेर होमस्टे सञ्चालन तथा कृषि पर्यटन प्रवद्र्धन गर्न सकिने उनीहरूको भनाइ थियो ।
प्राध्यापक भिर्डेनले उद्यम सुरु गर्न ठूलो पुँजी वा विशेष अवसर आवश्यक नपर्ने बताउँदै आफ्नो समुदायका समस्या र आवश्यकता पहिचान गरेर व्यवसायको सुरुआत गर्न सकिने धारणा राख्नुभयो । सानो प्रयासबाट काम थाल्ने, असफलताबाट सिक्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने सोच उद्यमशीलताका आधार भएको उहाँले बताउनुभयो ।
तारेबराह आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी गुरुङले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीमा नयाँ सोच र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना गर्न सके आसपासका क्षेत्रका विद्यार्थी तथा युवा लाभान्वित हुने बताउनुभयो ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले गाउँमा अवसर छैन भन्दै बाहिरिनुभन्दा स्थानीय सम्भावना पहिचान गरी आफ्नै ठाउँमा उद्यम र रोजगारी सिर्जना गर्न सकिने सन्देश कार्यक्रमले दिएको बताउनुभयो ।
फाउन्डेसनका केन्द्रीय सचिव कुलप्रसाद अधिकारी र कर्मही घर्ती मगरको समन्वय तथा फिरन्तेज एक्सपिडिसनका व्यवस्थापक पाउला र कुमार तामाङको स्थानीय सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया