काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबीचको ऐतिहासिक, घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख अर्यालले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका लागि पनि दुवै देशबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
विपद्का समयमा चीन सरकार तथा चिनियाँ मैत्री संस्थाहरूले नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति पनि सभामुख अर्यालले आभार व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले दुई देशका स्थानीय तह, सहर तथा समुदायबीच भगिनी सम्बन्ध र आपसी आदानप्रदानका कार्यक्रम विस्तार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन चिनियाँ पक्ष इच्छुक रहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया