काठमाण्डौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भएपनि यो नेपालीको साझा सम्पदा भएको बताउनुभएको हो ।
“राष्ट्रिय विभूति शङ्खधर साख्वाः ऋणमा डुबेका जनतालाई ऋण मुक्त गराई प्रारम्भ गर्नुभएको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो ।
यसले नेपालको सांस्कृतिक पहिचान, समाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको छ । जनकल्याण, परोपकार र समाजिक न्यायको भावना यस संवत्का विशिष्ट सन्देश हुन् ।”, उहाँले सन्देशमा भन्नुभएको छ ।
सभामुख अर्यालले नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्र्दभमा यसको संरक्षण, प्रर्वद्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताउनुभएको छ । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको भनाइ छ ।
सभामुख अर्यालले मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत प्राथमिकताका साथ संसद्मा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गर्नुभएको छ । साथै, राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउँदै विपद् र चुनौतीको सामान गर्न सबैलाई प्रेरणा प्रदान गर्नेमा जोड दिनुभएको छ ।
यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति बेहोर्न परेको पीडादायी अवस्था पनि यस कठिन घडीमा प्रभावित परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
“विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक छ ।
यस्तो समयमा हाम्रो एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति हो ।”, सभामुख अर्यालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया