वैशाख २४, २०८१ सोमबार May 6, 2024

केरा खेतीबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो ।

२०५२ सालमा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।

अहिले आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले वार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’

सुरुमा एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गर्नुभएको छ ।

‘चार/पाँच वर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख रुपैयाँ अनुदान मिलेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहीँकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’

आठ बिघा जमिन लिजमा लिएबापत वार्षिक तीन लाख २० हजार रुपैयाँ भाडा तिर्दै आउनुभएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिनुभयो ।

समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक सात/आठ लाख रुपैयाँसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई वर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’

गएको वर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो ।

‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्,’ उहाँले भन्नुभयो, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’

एसएलसीसम्मको अध्ययन गर्नुभएका चौधरीले केराबाट भएको आम्दानीले दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो,’ उहाँले भन्नुभयो, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार
पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए
२०८१ वैशाख २४, सोमबार
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
२०८१ वैशाख २४, सोमबार
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
२०८१ वैशाख २४, सोमबार