काठमाण्डौंः नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासको फैसलासँगै लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री, पार्टी संसदीय दलको नेता र पार्टी सभापतिसमेत गुमाएका छन् ।
सर्वोच्चले लामिछानेको नागरिकता मुद्दामा फैसला दिँदै उनको उम्मेदवारीदेखिकै सबै निर्णय बदर हुने फैसला सुनाएको हो । ‘… प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ सर्वोच्चको संक्षिप्त अन्तिम आदेशमा छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछाने ०५० मै लिएको नेपाली नागरिकताको आधारमा प्रतिनिधिसभा निर्वाचन लडेको भन्दै त्यसलाई वैध मान्न नसकिने फैसला दिएको हो । अधिवक्ता रविराज बसौलासमेतले र युवराज पौडेलले दायर गरेको रिटमाथि शुक्रबार अन्तिम आदेश आएको हो । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया