काठमाण्डौंः नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेख गरिएको छ । उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक उल्लेख छ । उपधार २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हकको व्यवस्था गरिएको छ ।
तर, जिल्लाको मष्टा गाउँपालिका–२ मा रहेको धनातोली गाउँका बालबालिका भने शिक्षाबाट वञ्चित हुने भएका छन् । गाउँ नजिकै रहेको घटालदेब मंगल प्राविको भवन ३० माघमा गएको भूकम्पको धक्काले बस्न नमिल्ने गरी चिराचिरा भएपछि यस विद्यालयमा अध्यनरत बालबालिकाको विचल्ली भएको अभिभावक मिनेश रोकायाले बताए । उनले भने, ‘जस्ताले छाएको चारकोठे पक्की भवनसहित बालबालिकाले खेल्ने खेलमैदान, शौचालय सबै भत्किएपछि विद्यालयमा अध्यनरत ६० जनाभन्दा बढी बालबालिकाको बिचल्ली भएको हो ।
२३ कात्तिक र २६ मा आएको भूकम्पले भवनमा सामान्य क्षति गरेको भए पनी २८ माघको राति आएको भूकम्पको धक्काले भने भवनमा बस्न नमिल्ने गरी चारकोठा शौचालय, खेलमैदान, घेरबार सबै भत्किएको छ । भवनभित्र बस्न सकिने अवस्था नै छैन । सानो भूकम्पले पनि कति बेला ढल्छ थाहा छैन ।
सामान्य हावा लागिरहेको समयमा पनि भवनबाट ढुंगा खसिरहेका हुन्छन् । यस्तो अवस्थामा बालबालिकालाई त्यहाँ बसाल्न निकै जोखिम हुनेहुँदा पालिकाको शिक्षा शाखा तथा इन्जिनियरसहितको अनुगमन टोलीले त्यस क्षेत्रमा प्रवेश नगर्न निर्देशन दिएको छ ।’
आधारभूत शिक्षाबाट वञ्चित हुँदै बालबालिका
गाउँभन्दा टाढा मष्टा निमावि तुतीमा रहेको विद्यालयमा बालबालिका अध्ययनका लागि पठाउने हो भने बाटोमा डुन्डेखोला र घटाल पातल जंगल रहेकाले बालबालिकालाई जंगली जनावारको डर हुने स्थानीय कल्पना रोकायले बताइन् । उनले भनिन्, ‘२०६५ सालमा स्थापना भएको यस विद्यालयमा बालबालिका अध्यापन गराउन सजिलो थियो तर भूकम्पले काम नलाग्ने गरी विद्यालय भत्काएपछि कतिपयका बालबालिका विद्यालय जानै छोडेका छन् ।
सबै बालबालिकालाई एउटै कक्षा कोठामा राखेर पढाउनुपर्ने अवस्था छ । बस्न ठाउँ छैन, खेल्ने मैदान छैन । त्यसैले कतिपयले अभिभावकले बालकालिकालाई विद्यालयमा नै पठाउँदैनन् । सरकारले अहिलेसम्म हेरेको छैन । आफूहरू अशिक्षित भए पनि बालबालिकालाई राम्रो शिक्षा दिनेर आफूले देखेका सपना बालबालिकाले पढेर लेखेर पूरा गर्लान् भन्ने सोचेका थियौं तर आपूmजस्तै अनपढ रहने भए ।
हाम्रो आवाज कसले सुनिदिने कसले विद्यालय निर्माण गरी दिने ? यस्तो दुर्गम ठाउँ छ, बाजुराको सीमानामा छांै । नजिकको सकारले त सुन्दैन अरू प्रदेश र संघीय सरकारबाट के आशा गर्नु ? हाम्रा छोराछोरीको भविष्य पनि अन्धकार हुने भयो,’ रोकायाले चिन्ता व्यक्त गरिन् ।
स्थानीय देवजंग रोकायले आफू बस्नका लागि निर्माण गरेको पक्की भवनमा बालबालिकालाई सामान्य रूपमा अध्यापन गराउने कार्य सुरु गरेको जानकारी दिए । विद्यालयकी प्राध्यानाध्यापक पशुपतिकुमारी सिंहले केही महिनाअघि आएको भूकम्पको धक्काले पुरानो भवन छतविच्छेद पारेको बताइन् । उनका अनुसार विद्यालयको भौतिकलगायत अन्य सामग्रीसहित १ करोडबराबरको क्षति भएको छ । यस विषयमा वडा कार्यालय र पालिकालाई प्रहरी मुचुल्कासहित सबै रिपोर्ट पठाइसकिएको छ ।
मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले विद्यालयलाई गाउँनजिकै राम्रो ठाउँ खोजेर व्यवस्थित गर्न आफुहरूले पहल सुरु गरेको जानकारी दिए । उनले भने, ‘विद्यालयको अवस्थाबारे पालिकाले गम्भीर भएर काम गरिरहेको छ । पालिकाबाट तत्काल रकम विनियोजन गर्न सम्भव छैन ।’ विद्यालय भवन, शौचालयदेखि खेलमैदान निर्माण गर्न रकम अभाव भएकाले आफुले शिक्षा मन्त्रालयदेखि अन्य सरोकारवा निकाय तथा विभागमा धाउन थालेको जानकारी उनले जानकारी दिए । विद्यालयको भवन निर्माणमा संघीय तथा प्रदेश सरकारले पनि सहयोग गर्ने आशा व्यक्त गरे । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया