कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

५० प्रतिशत अनुदानमा कृषकलाई मकैको बीउ वितरण

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो।

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो। कृषकलाई अरुण-२, रामपुर कम्पोजिट, मनकामना-३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्।

प्रत्येक वडाबाट सिफारिस भई आएका कृषकलाई उनीहरूले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताइन्।

‘हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ’, बगालेले भनिन्,’बाँकी बीउ वितरण जारी छ।’ उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ। कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ।

व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो। यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ। एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया