कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै

राष्ट्रिय खेलकुदको प्रदेश छनोटमा इलामबाट ३७० खेलाडी सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश छनोटमा सहभागी हुन इलामका ३७० खेलाडीलाई बिदाइ गरिएको छ ।

शुक्रबारबाट कोशी प्रदेशको विभिन्न स्थानमा सञ्चालन हुने छनोट प्रतियोगितामा इलामबाट २३ वटा खेलमा खेलाडी सहभागी हुन लागेका हुन् ।

कुल ३१ खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि इलामबाट खेलाडी, प्रशिक्षक तथा सम्बन्धित टोली गरी ३७० जनाको सहभागिता रहने जिल्ला खेलकुद कार्यालय इलामका प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदरमुकामस्थित कार्यालयबाट बिहीबार प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई ट्रयाकसुट र जर्सीसहित बिदाइ गरिएको छ । प्रदेश छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्ने लक्ष्यसहित खेलाडीहरू प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

जिल्लाका विभिन्न खेल विधामा आबद्ध खेलाडीको सहभागिताले इलामको खेलकुद क्षेत्रको सम्भावना र सक्रियतालाई समेत देखाएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष सुमन काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै मेहनत, अनुशासन र लगनशीलताका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

प्रदेश छनोटमा सफलता हासिल गर्ने खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । खेलाडीहरूको मेहनत, लगनशीलता र प्रतिभाले इलामको नाम राष्ट्रिय खेलकुदको मञ्चसम्म पुग्ने अपेक्षा कार्यालयले राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया