असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो ।

छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरूलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराउनुभएको थियो ।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८–०७९)’ पेस गर्नुभएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकको सुरुमा सभामुख घिमिरेले आज मात्र शपथ लिनुभएका जनता समाजवादी पार्टी नेपालका समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया